• Friday 16th of October 2026

यसरी हुँदैछ एमाले महाधिवेशनमा निर्वाचन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)को शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आइतबारदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ ।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’को घोषणा गर्नेछन् । यसपटक केन्द्रीय सचिवालयलाई नै ‘अध्यक्ष मण्डल’ मा परिणत गरिएको छ । यसअघिका महाधिवेशनमा बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गर्दै आएको थियो ।

केन्द्रीय निर्वाचन आयोगले चुनावी प्रक्रिया शुरु गर्नु अघि अध्यक्ष मण्डलले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई धारणा राख्न दिने तय भएको एक नेताले बताए । पोखरेल पक्षले दस्तावेज प्रस्तुत गर्न पाउने भए पनि त्यसमा छलफल भने नहुने ती नेताले जानकारी दिए ।

एमालेको विधानमा समन्वय कमिटी, सङ्गठन कमिटी, सल्लाहकार परिषद्, विभाग, सयन्त्र र कार्यदल बाहेकका सबै तहका कमिटी र आयोगहरू महाधिवेशन वा अधिवेशनबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित हुने व्यवस्था छ । गत भदौमा गोदावरीमा सम्पन्न विधान महाविधेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव सहित २५१ सदस्यीय केन्द्रीय कमिटी रहने तय गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिको प्रमाणित नामावली र केन्द्रीय कमिटीको बनावट (क्लस्टर) प्राप्त भएपछि मात्र काम अगाडि बढाउँछ । किनभने महाधिवेशन प्रतिनिधिहरू नै मतदाता हुन ।

मतदाता नामावली प्रकाशन, दावी विरोधपछि अन्तिम नामावली प्रकाशन हुन्छ । आयोगका अध्यक्ष डा.विजय सुब्बा सोमबार विहानसम्म मतदाता नामावली प्रकाशन गर्न सकिने तर त्यसका लागि आइतबारै प्रतिनिधिको नामावली र केन्द्रीय क्लस्टर आफूहरूलाई चाहिने बताउँछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖