विधान महाधिवेशनबाट घटाइएको पदाधिकारीको संख्या बढाएर अहिलेकै कायम गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ ।
११ औं महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले पदाधिकारीको संख्या १९ कायम गर्न प्रस्ताव गरेको थियो ।
सो प्रस्तावप्रति पोखरेल समूहले कडा प्रतिवाद गरेको हो । उपाध्यक्ष युवराज ज्ञवालीले विधान महाधिवेशनको निर्णय उल्ट्याउने कुरा आपत्तिपूर्ण भएको बताए ।
‘आफैले दुई कार्यकालको प्रस्ताव ल्याउने, आफैंले ७० वर्षको उमेरहदको प्रस्ताव अगाडि सार्ने, अनि आफैंले त्यसलाई अवज्ञा गर्ने कस्तो प्रणाली बसाल्न खोजेका हौं ?’ ज्ञवालीले प्रश्न गरे, ‘पदाधिकारीको संख्या पुरानै कायम राख्ने हो भने विधान अधिवेशन किन गरिएको थियो ?’
संस्थापन इतरपक्षका स्याथी कमिटी सदस्य कर्ण थापाले पनि पदाधिकारी संख्या बढाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । संस्थापन पक्षका नेताहरूले भने सबैलाई समेट्नका लागि पदाधिकारीको संख्या १९ र केन्द्रीय सदस्यको संख्या ३ सय कायम गर्नुपर्ने बताएका छन् ।
गत भदौमा सम्पन्न विधान अधिवेशनले वरिष्ठ उपाध्यक्ष हटाउनेसहित १९ पदाधिकारीलाई १५ मा झारेको थियो । केन्द्रीय समिति बैठक सकिएपछि महाधिवेशनको बन्दसत्र शुरू हुनेछ ।
