काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा संस्थापन अर्थात् केपी शर्मा ओली पक्षलाई आफ्नो प्यानल सार्वजनिक गर्न कठिन भइरहेका बेला ईश्वर पोखरेल पक्षले आफ्नो प्यानलका पदाधिकारी धमाधम टुङ्गो लगाउन थालेको छ ।
नेताहरूका अनुसार ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको पनि निश्चित भएको छ । त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे निश्चित हुँदा उपमहासचिवमा योगेशको कन्फर्म भएको छ । त्यस्तै पाँच उपाध्यक्षमा विष्टबाहेक परशुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइन हुन बाँकी रहेको बताइएको छ ।
पोखरेल समूहबाट सचिवमा ठाकुर गैरे,कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गर्ने तयारी भएको छ ।
‘यी नामहरू लगभग फाइनलजस्तै हुन् । तर केही छलफल पनि भइरहेको छ’, ईश्वर पक्षका एक नेताले भने, ‘१० बजेभित्र उपमहासचिवको पनि टुङ्गो लाग्छ ।’ एमालेको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
