नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा राखिए पनि ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको स्पष्ट पारेका छन्।
स्रोतका अनुसार आइतबार साँझ गुण्डुमा भएको आन्तरिक छलफलमा पनि ज्ञवालीले आफू महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने अडान दोहोर्याएका थिए। तर प्यानल तयार पार्ने क्रममा उनलाई उपाध्यक्षको सूचीमा राखिएको थियो, जसमा उनले सहमति जनाएनन्।
आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली केहीबेरपछि पुनः मनोनयन प्रक्रियाका लागि पुगेका थिए। तर अन्ततः उनले केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराए। उनी त्यहाँबाट भावुक हुँदै रुँदै फर्किएको जानकारी उनीनिकट स्रोतले दिएको छ।
ज्ञवालीले आफू निकटस्थहरूसँग कुरा गर्दै पार्टीभित्र एउटै व्यक्तिलाई पटक–पटक पदमा दोहोर्याउने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका छन्। “म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता रहन्छु,” उनले भनेको उद्धृत गरिएको छ, “पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने मान्यता थियो, तर एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृत्ति ठीक भएन। मेरो मन निकै दुखेको छ।”
उनले आफू पार्टी आन्दोलनमै रहने स्पष्ट गर्दै केन्द्रीय सदस्यबाहेक अन्य कुनै पदमा उम्मेदवारी नदिएको बताएका छन्। ज्ञवालीको यो निर्णयलाई एमालेभित्र असन्तोष र नेतृत्व चयन प्रक्रियाप्रति असहमतिको संकेतका रूपमा हेरिएको छ।
