काठमाडौं । घर फर्क अभियानमार्फत नेकपा (एमाले) फर्किएकी रामकुमारी झाँक्री ११ औ अधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।
सुरुमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा सचिवमा नअटाएपछि उनले पछि पोलिटब्युरो सदस्य मनोनीत हुने गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।
झाँक्री राजाराम स्यांगताङ प्रस्तावक र विश्वमणि सुवेदी समर्थक रहेर खुला महिलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । उनले ओली नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएको बुझिएको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर एकीकरण भएको तत्कालीन नेकपा विघटन भएपछि झाँक्री माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत समाजवादी)मा गएकी थिइन् ।
सर्वोच्च अदालतले नै तत्कालीन नेकपा विघटन गरेपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) आफ्नै पुरानो पार्टीमा फर्किएको थियो भने एमाले पनि आफ्नै पार्टीमा फर्किएको थियो ।
नेपाल र झलनाथ खनालसहित मिलेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा झाँक्री संस्थापक सचिव भएकी थिइन । तर, त्यसपछि पार्टीको महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएर महिला उपाध्यक्षमा जयन्तीदेवी राईसँग पराजित भएकी थिइन ।
उपाध्यक्षमा पराजित भएकी झाँक्री केही समय पार्टीमा निष्क्रिय जस्तै भएकी थिइन । तर, नेकपा एस र नेकपा (माओवादी केन्द्र)सहितका विभिन्न दल एकीकरण भएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि झाँक्री आफ्नो पुरानै पार्टी एमालेमा घर फर्क अभियानमार्फत फर्किएकी थिइन् ।
