• Friday 16th of October 2026

बालेनको कडा आलोचना गर्ने गायिका ज्योति मगर देखिए एमालेको महाधिबेसनमा


  • धनकुटा खबर
  • .

लामो समयदेखि नयाँ तथा जेन–जी युवाहरूका नाममा राजनीतिक नेताहरूमाथि कडा आलोचना गर्दै आएकी चर्चित लोकगायिका ज्योती मगर अहिले भने नेकपा (एमाले) को महाधिवेशनस्थलमा खुलेर देखिएकी छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भइरहेको काठमाडौंको भृकुटीमण्डपमा उनी एक उम्मेदवारको समर्थनमा जुलुसमै सहभागी हुँदै भोट माग्दै देखिइन्, जसले राजनीतिक र सांस्कृतिक वृत्तमा चर्चा पैदा गरेको छ।

भृकुटीमण्डपमा आयोजित महाधिवेशनका क्रममा जनजाति समुदायको एक समूहले आफ्ना उम्मेदवारहरूको समर्थनमा झाँकीसहितको जुलुस निकालेको थियो। सो जुलुसमा ज्योती मगर पनि उत्साहपूर्वक सहभागी भइन्। उनको हातमा युवा नेता पूर्ण गुरुङलाई जिताउन अपिल गरिएको पोस्टर देखिन्थ्यो। जुलुसमा सहभागीहरूले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो…’ भन्ने नाराबाजी गरिरहेका थिए, जसमा ज्योतीले नाच्दै र ताली बजाउँदै साथ दिइन्।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ज्योती मगरले महाधिवेशनको वातावरण एकदमै रमाइलो लागेको बताइन्। आफू उम्मेदवार नभए पनि युवा नेता पूर्ण गुरुङलाई समर्थन गर्न आएको उनको भनाइ थियो।

“समावेशीताको कुरा छ, युवालाई पुस्तान्तरण गर्नुपर्ने कुरा छ। त्यसकारण युवा नेता पूर्ण गुरुङ चाहिन्छ,” उनले भनिन्।

हालसम्म ज्योती मगरले औपचारिक रूपमा एमाले पार्टी प्रवेश गरेकी छैनन्। तर पछिल्लो समय दिएका उनका विभिन्न अन्तर्वार्ताहरूमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति सकारात्मक धारणा र सदासयता प्रकट हुँदै आएको देखिन्छ। लामो समयसम्म बालेन रवि लगायतका नेताहरूको कडा आलोचना गर्दै आएकी ज्योती मगरको यो उपस्थिति र समर्थनलाई धेरैले राजनीतिप्रति बदलिँदो धारणा वा सम्भावित राजनीतिक संलग्नताको संकेतका रूपमा व्याख्या गरेका छन्।

ज्योती मगरको महाधिवेशनमा देखिएको सक्रियताले कलाकार र राजनीतिबीचको सम्बन्ध तथा जेन–जी पुस्ताको राजनीतिक अभिव्यक्तिबारे पुनः बहस सुरु गराएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖