पटना । बिहारका मुख्यमन्त्री नीतीश कुमार सोमबार एक नवनियुक्त आयुष महिला डाक्टरको हिजाब तानेपछि विवादमा फसेका छन्।
यो घटनालाई लिएर विपक्षी दलहरूले नीतीश कुमारलाई निशाना बनाउँदै ‘मानसिक रूपमा अस्थिर’ भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा नीतीश कुमारले नियुक्ति पत्र दिने क्रममा एक मुस्लिम महिला आयुष डाक्टरको अनुहारबाट हिजाब तानिरहेको देखिन्छ। मुख्यमन्त्रीले यस्तो गरिरहेको बेला पछाडि उभिएका बिहारका उप-मुख्यमन्त्री सम्राट् चौधरीले उनलाई रोक्न खोजेको भिडियोमा देखिन्छ। तर, बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेसहित मुख्यमन्त्रीका प्रधान सचिव दीपक कुमार भने हाँसिरहेको देख्न सकिन्छ।
हिजाबमा आएकी नवनियुक्त डाक्टर नियुक्ति पत्र लिन मञ्चमा पुग्दा ७५ वर्षीय मुख्यमन्त्रीले सोधे, ‘यो के हो?’ त्यसपछि उनी हल्का झुकेर हिजाब तल तान्न पुगेका थिए।
