• Friday 16th of October 2026

पूर्वसचिव कार्कीसहित चार प्रतिवादीलाई पाँच अर्ब २५ करोड बिगोको मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हाे ।

तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर गरेको हो ।

प्रतिवादी बनाइएकाहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भएपनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ । यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको निष्कर्ष छ ।

२०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको पाइएको छ ।

नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित कित्ता नं. ४६०६ को १–१४–०–३–५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिका बिचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले बुधबार मुद्दा दायर गरेको हो । जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ । -रातोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖