• Friday 16th of October 2026

पत्रकार राजीव खत्री रास्वपामा प्रबेश,गगन थापा बिरुद्द चुनाव लड्ने


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमा चर्चित तथा लामो समय पत्रकारितामा सक्रिय रहेका राजीव खत्रीले औपचारिक रूपमा पत्रकारिता छोड्दै राजनीतिमा प्रवेश गरेका छन्। केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका खत्री आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका हुन्।

काठमाडौंको घन्टीघरस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खत्रीलाई पार्टीका नेताहरूले ब्याच लगाइदिएर स्वागत गरेका थिए। कार्यक्रममा पार्टीका शुभेच्छुक, समर्थक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पत्रकारितामा रहँदा नै रास्वपाप्रति सकारात्मक धारणा राख्दै आएका खत्रीले पार्टी सभापति रवि लामिछानेसँग कारागारमा दुईपटक छलफल गरेपछि पार्टी प्रवेश गर्ने निर्णय लिएको बताएका छन्। उनले पार्टी प्रवेशलाई व्यक्तिगत महत्वाकांक्षा भन्दा पनि वैकल्पिक राजनीतिको यात्रासँग जोडेर हेर्नुपर्ने बताए।

खत्रीको पार्टी प्रवेशसँगै उनलाई आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापाविरुद्ध उम्मेदवार बनाइने चर्चा सुरु भएको छ। सो क्षेत्रका मतदाता स्वयं खत्री नै हुन्। तर पार्टी प्रवेश कार्यक्रममा सञ्चारकर्मीले यसबारे प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिन चाहेनन्।

उनले भने, “म काठमाडौं क्षेत्र नम्बर ४ को मतदाता हुँ। यसअघि गगन थापालाई मतदान गरेको पनि हुँ। तर अब यही क्षेत्रबाट चुनाव लड्ने कि अन्यत्रबाट भन्ने निर्णय भइसकेको छैन। पार्टीमा प्रवेश गरेपछि म एक्लैले यस्तो निर्णय गर्न सक्दिनँ।”

रास्वपा स्रोतका अनुसार पनि खत्रीलाई कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने भन्ने विषयमा हालसम्म कुनै निर्णय भइसकेको छैन। पार्टीको विधानअनुसार उम्मेदवार छनोट प्राइमरी इलेक्सनमार्फत गरिने व्यवस्था रहेको छ।

राजीव खत्रीको पत्रकारिताबाट राजनीतितर्फको प्रवेशलाई रास्वपाको विस्तार र वैकल्पिक राजनीतिमा नयाँ अनुहार थपिएको घटनाका रूपमा हेरिएको छ। आगामी दिनमा उनको भूमिका र जिम्मेवारी के हुने भन्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖