• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा कानुनी प्रहार भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाडौँमा आयोजित शपथग्रहण समारोहलगत्तै कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वलाई छुन खोज्नु संसारकै सबैभन्दा महँगो पर्ने दाबी गरेका हुन् । उनले पार्टी नेतृत्वविरुद्ध भइरहेका विभिन्न प्रचार र हल्लाहरूलाई पञ्चायतकालीन कूकर्मको संज्ञा दिँदै त्यसको सशक्त प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल ढाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि देशभरबाट तयारी हालतमा रहन कार्यकर्तालाई आह्वान गरे। उनले एमाले नेतृत्वमाथि जाली मुद्दा लगाउने वा भौतिक हमला गर्ने प्रयास भएमा त्यसलाई सहन नसकिने र त्यस्तो अवस्थामा सरकार ढालिने स्पष्ट पारे।

मिडिया ट्रायलमार्फत नेतृत्वलाई बदनाम गराउन खोजिएको आरोप लगाउँदै उनले अब कुराले मात्र नभई कामले नै आफूलाई प्रमाणित गरेर देखाउने बताए। एमालेको शक्तिलाई नजरअन्दाज नगर्न चेतावनी दिँदै उनले आन्दोलनका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहन समेत निर्देशन दिएका छन्।

उनले भने, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कुकर्महरूको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्दछ । म तपाईँहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार ।

यसका निम्ति नेकपा (एमाले)ले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖