सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विष्टले जम्मा ८७५ मत प्राप्त गरी पराजय बेहोरेका थिए ।
अध्यक्ष केपी शर्मा ओली समूहबाटै टिकट पाउनेमा विश्वस्त रहेका विष्ट अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नअटाएपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए ।
