अमेरिकाले ७५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले शुक्रबार चार्टर्ड विमानमार्फत ६ महिलासहित ७५ जनालाई नेपाल डिपोर्ट गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार अमेरिकी विमानमार्फत नै उनीहरूलाई डिपोर्ट गरिएको हो ।
डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।
अमेरिकाले २०८२ जेठ २५ गते पनि एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।
अमेरिकामा बस्नका लागि कानूनी आधार स्थापित नभएकाहरूलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइन्छ । प्रहरीको मानव बेचबिखन ब्यूरोमा लगिन्छ । इच्छुकले प्रहरीमा उजुरी दर्ता गर्न सक्छन् ।
डिपोर्ट भएर आएकाहरू केहीले उजुरी पनि दिएका छन् ।
नेपालबाट अमेरिका पठाउने मानव तस्करको जालोबारे प्रहरीले सूचना मागे पनि अमेरिकाबाट डिपोर्ट भएका नेपालीले सकभर सबै सूचना नदिने गरेको पाइएको छ ।
