राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नेपाली सेना र अन्य सुरक्षा निकायले संयम अपनाएर जनताको जीवन जोगाएको भन्दै उनीहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। शनिबार चितवनको भरतपुरमा आयोजित पार्टीको स्वागत सभालाई सम्बोधन गर्दै उनले गोली नचलाई नागरिकको रक्षा गर्ने सुरक्षाकर्मीको भूमिकालाई सम्मान गर्नुपर्नेमा उल्टै विवादमा तान्ने प्रयास भइरहेको बताए।
लामिछानेका अनुसार भदौ २३ को नरसंहारविरुद्ध जनता सडकमा उत्रिएपछि त्यसको सुरक्षा व्यवस्थापनमा सेना र प्रहरीलगायतका निकायले जिम्मेवार भूमिका निर्वाह गरेका थिए। “भदौ २४ मा नेपाली सेनाले संयमपूर्वक जनता जोगाएको हो, जनतालाई गोली नहानेको हो,” उनले भने, “यस्तो अवस्थामा सेनालाई सम्मान गर्नुपर्ने हो, तर अहिले जबर्जस्ती विवादमा तान्ने प्रयास भइरहेको छ।”
राष्ट्र कमजोर बनाउने उद्देश्यले नेपाली सेना, प्रहरी र सुरक्षा निकायमाथि आरोप थोपरिएको उनको दाबी छ। उनले सुरक्षाकर्मीलाई हतोत्साहित नहुन र उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै भने, “राष्ट्रलाई कमजोर पार्ने गरी यी निकायमाथि आक्रमण गर्ने काम बन्द हुनुपर्छ।” साथै, प्रत्येक आन्दोलनमा प्रहरी र सुरक्षाकर्मीहरू पेलाइमा पर्ने अवस्था सधैं नरहने विश्वास पनि उनले व्यक्त गरे।
सभापति लामिछानेले भ्रष्टाचारमा डुबेकाहरूलाई अब सलाम गर्न नपर्ने अवस्था आउने उल्लेख गर्दै, जनताको शासन निर्वाचनमार्फत स्थापित हुने दिन सबैले न्याय पाउने बताए। उनले लोकतान्त्रिक प्रक्रियाबाट शासन व्यवस्थामा सुधार सम्भव हुनेमा जोड दिए।
कार्यक्रममा उनले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। उनले सुरक्षा निकाय र जनताबीचको सम्बन्ध अझ बलियो बनाउँदै शान्ति, सुशासन र लोकतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
