राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएपछि पार्टी गतिविधिमा पूर्ण रूपमा फर्किएका छन्। आज अपराह्न ४ बजे उनको अध्यक्षतामा रास्वपाको केन्द्रीय समिति बैठक बस्ने तय भएको छ, जहाँ सभापति लामिछानेले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्नेछन्।
पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार केन्द्रीय समिति बैठकअघि आज दिउँसो ३ बजे पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रमसमेत तय गरिएको छ। लामो समयपछि लामिछाने प्रत्यक्ष रूपमा पार्टी बैठकमा सहभागी हुन लागेका हुन्।
शुक्रबार रिहा भएपछि लामिछाने शनिबार चितवनमा आयोजित सभामा सहभागी भई काठमाडौं फर्किएका थिए। त्यसपछि उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए।
सहकारी ठगी प्रकरणमा लामिछाने थुनामा परेपछि पार्टीको जिम्मेवारी डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हाल्दै आएका थिए। लामिछाने रिहा भएसँगै रास्वपाले उनी पूर्ववत् रूपमा पार्टी नेतृत्वमा सक्रिय रहने स्पष्ट संकेत दिएको छ।
आजको बैठकलाई पार्टीको आगामी रणनीति र राजनीतिक दिशाबारे महत्वपूर्ण मानिएको छ।
