राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उज्यालो नेपाल पार्टी उनेपाबीच पार्टी एकता वा चुनावी सहकार्यका लागि निर्णायक संवादको सम्भावना बढेको छ। सहकारी ठगी मुद्दामा रिहा भएपछि रास्वपा सभापति रवि लामिछाने सक्रिय राजनीतिमा फर्किएसँगै दुवै दलबीच ‘ब्रेक थ्रु’ हुने विश्वास नेताहरूले व्यक्त गरेका छन्।
रास्वपाले समान विचार भएका नयाँ शक्तिसँग एकता वा सहकार्यको ढोका खुला रहेको स्पष्ट पारेको छ। उता उनेपाका संरक्षक कुलमान घिसिङले पनि लामिछानेसँग प्रत्यक्ष निर्णायक वार्ता गर्ने जिम्मेवारी लिएको पार्टी नेताहरूले बताएका छन्। विगतमा सर्त र संरचनाबारे सहमति नजुट्दा एकता रोकिएको भए पनि अहिले संवाद पुनः अघि बढेको जनाइएको छ।
यद्यपि तत्काल पार्टी एकता कठिन देखिए पनि, राजनीतिक एजेन्डा मिल्ने अवस्थामा चुनावी तालमेलको सम्भावना कायमै रहेको दुवै पक्षको संकेत छ। जेन–जी आन्दोलनको भावना समेट्दै नयाँ शक्तिहरूबीच सहकार्य सम्भव हुन्छ कि हुँदैन भन्ने विषय आगामी वार्ताले तय गर्नेछ।
