राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा पार्टी सक्रिय रहेको बताएका छन् । हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भएको भेट पनि सोही प्रयासको एक हिस्सा भएको उनको भनाइ छ ।
आफ्नो मुद्दाको तारेखका लागि चितवन जिल्ला अदालत पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पछिल्ला राजनीतिक भेटवार्ताबारे स्पष्ट पारे । बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने विषयमा सहमति भइसकेको हो कि भन्ने प्रश्नमा उनले त्यसबारे अहिले नै कुनै निर्णयको चरणमा नपुगेको बताए ।
“हामी त्यो चरणमा प्रवेश गरेका छैनौँ,” लामिछानेले भने, “पहिले त एक–अर्कालाई बुझ्नुपर्छ, कुराकानी हुनुपर्छ । के अवस्था छ, कहाँ के सम्भावना छन् भन्ने बुझ्ने चरणमै छौँ । हतार गर्नुपर्ने अवस्था छैन ।”
उनले बालेनसँग भएको भेटलाई लिएर विभिन्न किसिमका अड्कल र व्याख्या भइरहेकोतर्फ संकेत गर्दै आफूहरू दुई जनाबीच भएको कुराकानीलाई आफ्नो इच्छाअनुसार नलेख्न सञ्चारकर्मीलाई आग्रह गरे ।
लामिछानेका अनुसार रास्वपा बालेनसँग मात्र होइन, अन्य वैकल्पिक व्यक्तित्व र समूहहरूसँग पनि संवादमा छ । “सुधन गुरुङजीसँग कुराकानी भएको छ । कुलमानजीसँग पनि कुरा गर्नेछौँ,” उनले भने, “वैकल्पिक शक्तिहरूलाई एउटै धारमा ल्याउन रास्वपा सक्रिय रूपमा लागिरहेको छ ।”
उनको भनाइले आगामी दिनमा नयाँ किसिमको राजनीतिक सहकार्य र सम्भावित गठबन्धनको संकेत दिएको छ । यद्यपि, उनले सबै प्रक्रिया छलफल र समझदारीकै चरणमा रहेको स्पष्ट पार्दै कुनै निष्कर्षमा पुग्न समय लाग्ने बताए ।
