• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एलिनाबाट सिक्री फिर्ता लिन निकै गाह्रो भयो: कला लम्साल


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका कला लम्साल र एलिना चौहानको वादविवाद थप तन्किएको छ । कलाले एलिनालाई राख्न दिएको सिक्री आफूले फिर्ता पाउन निकै गाह्रो भएको नयाँ बयान दिएकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी उठाइएका प्रश्न र आरोपबारे उनले स्पष्टिकरण दिएकी हुन् । फेसबुकमा लामो स्टाटस लेख्दै एलिनाप्रति थप गुनासो पोखेकी छन् ।

लम्सालले आफू दुई दशकदेखि नेपाली गित संगीतमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै केही समय बाध्यताले सुस्ताए पनि पछिल्लो समय पुनः पूर्ण रूपमा संगीतमा फर्किएको बताएकी छन् । सामाजिक सञ्जालमा अनावश्यक ‘जुवारी खेल्ने’ आफ्नो बानी नभए पनि बारम्बार उठेका प्रश्नको जवाफ दिनुपर्ने अवस्थाले यो अभिव्यक्ति सार्वजनिक गर्न बाध्य भएको उनको भनाइ छ ।

एलिनासँग जोडेर उठाइएका सिक्री सम्बन्धी प्रसंगमा उनले आफूले कुनै गलत नियत नराखेको स्पष्ट पारेकी छन् । एक अन्तरवार्तामा आएको प्रश्नको सन्दर्भमा हाँसोमा उठेको विषयलाई गलत ढंगले व्याख्या गरिएको उनको भनाइ छ । आफूले एलिनाको नाम नलिएको र चोरीको आरोप पनि नलगाएको भन्दै उनले सबै कलाकारको सम्मान गर्ने बताएकी छन् । तर अमेरिकाबाट फर्केपछि निकै ताकेता गरेर आफूले सिक्री फिर्ता पाएको कलाको भनाइ छ ।

उनी लेख्छिन्, ‘जहाँसम्म मैले एक अन्तरवार्तामा ञएकजना कलाकारले मेरै सिक्री लगाएर मेरै कुरा गरेको’ भन्ने मेरो अभिव्यक्ति छ, त्यसको सन्दर्भमा मैले अमेरिका रहँदै बहिनीलाई सिक्री लगाउन दिएको, पछि फर्केपछि फिर्ता लिएको, बहिनीले त्यही सिक्री लगाएर अन्तरवार्ता दिएको यथार्थ सबैसामु घाम जत्तिकै छर्लङ्ग छ। जसको विषयमा (मेरो बिचारमा) बहिनी स्वयं स्पष्ट छिन्।’

अन्तरवार्ता लिने क्रममा प्रश्नकर्ताले ‘मोबाइल स्क्रोल गर्दै जादा के देखेर हांसो लाग्छ….? भन्ने जिज्ञासा राख्दा मैले हाँसेर त्यो सन्दर्भ उठाएकी थिएँ, जसमा उनको नाम उल्लेख पनि गरेको छैन र ‘मेरो सिक्री दिइनन्’ पनि भनेको छैन र चोरेको हुन् पनि भनेकि छैन । किनकि म हरेक मान्छेलाई इज्जत गर्छु ।’

‘अमेरिकाबाट फर्केपछि मैले सिक्रीको लागि बहिनी एलिनासँग बारम्बार ताकेता गर्दा पनि आफ्नै सामान प्राप्त गर्न नसकेपछि मेरो फिल्डकै एकजना बहिनीमार्फत निकै गाह्रो गरी लिएकी थिएँ। म पनि स्वयम् कलाकार हुँ। त्यसैले मलाई राम्रोसँग थाहा छ, हामी त्यस्तो व्यस्त पनि हुदैनौं कि कसैको त्यति महत्वपूर्ण सामान फिर्ता गर्न केही मिनेट समय पनि नहोस् !’

सिक्री सानै भएपनि यससँग आफ्नो भावनात्मक संम्बन्ध जोडिएको कलाको भनाइ छ ।

उनी थप्छिन्, ‘त्यही सिक्री लगाएर म बिरामी भएर आएको अवस्थालाई होच्चाउदै प्रिय बहिनी एलिनाले अन्तरवार्ता दिइरहँदा म अर्को अचम्मित थिएँ । तर मौन थिएँ । त्यति मात्र नभएर म बिरामी अवस्थामा नेपाल फर्किएपछि मेरो बिरामी अवस्थाको खिल्ली उडाउँदै अपमानजनक शैलीले मेरो कुरा काटेको लामो अडियो सामाजिक सन्जालभरि सार्बजनिक हुँदा पनि म चुप रही सानी बहिनि नै हुन् भनि एलिना बहिनीप्रति कुनै प्रतिसोध साधिनँ। सामाजिक सञ्जालभरि भन्दै पनि हिँडिन । आज आफुमाथि यो सहन नसक्ने गरी हदै सम्मको प्रहार हुँदा नबोलि बस्दा यो भ्रम पनि फैलन सक्छ कि कतै कलाकै गल्ति त हैन, तर बिल्कुल होइन ।’

एलिनाले आफ्नो किड्नी किन्ने औकात छ भनेर गरेको टिप्पणीमा पनि कलाले प्रतिक्रिया दिएकी छन् । नेपालमा पैसा खर्च गरेर किड्नी किनबेच गर्न नपाइने कानून रहेको उनले स्मरण गराएकी छन् । बिरामी अवस्थालाई लिएर गरिएको अपमानजनक टिप्पणी र सामाजिक सञ्जालमा फैलाइएको सामग्रीले आफूलाई थप पीडा दिएको उनको भनाइ छ।

अन्त्यमा उनले संगीतप्रेमी र शुभचिन्तकलाई यो विषयलाई थप मलजल नगर्न आग्रह गर्दै आफू र एलिना दुवैले अझ धेरै राम्रा गीत प्रस्तुत गर्न बाँकी रहेको स्मरण गराएकी छन् । ‘भौतिक सुख किन्न सकिएला, तर मनको शान्ति पैसाले किन्न सकिँदैन,झ भन्दै उनले भावुक अपिल गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖