• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

‘बहुत राम्रो’ भन्दै ओलीको प्रतिक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी आम निर्वाचनमा आफ्नै नेतृत्वमा नयाँ राजनीतिक पार्टी बनाएर चुनावी मैदानमा उत्रने तयारी तीव्र पारेका छन्। यसका लागि उनले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका नेता, अभियन्ता, बुद्धिजीवी, कलाकार तथा सञ्चारकर्मीसँग निरन्तर छलफल गरिरहेका छन्।

ललितपुरको कुपण्डोलस्थित आफ्ना सल्लाहकार कुमार बेनको निवासमा भएको छलफलमा बालेनले वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, पूर्वसचिव भीम उपाध्याय, अभियन्ता सागर ढकाल, जेन–जी अभियन्ता रक्षा बम, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी ऋषि धमला, रेशम चौधरीलगायतको सहभागिता रहेको बताइएको छ।

छलफलमा सहभागी स्रोतका अनुसार बालेनले आगामी निर्वाचनमा आफ्नै नेतृत्वमा पार्टी बनाएर प्रतिस्पर्धा गर्ने स्पष्ट संकेत दिएका छन्। पुराना दलहरूप्रति जनआक्रोश बढिरहेको अवस्थामा वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याएर अघि बढ्ने विषयमा पनि छलफल भएको जनाइएको छ। यद्यपि, अन्तिम निर्णय भने अझै भइसकेको छैन।

छलफलकै क्रममा बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली को निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्न सक्ने सम्भावनाबारे पनि संकेत गरेको सहभागीहरूले बताएका छन्। यसबारे पत्रकारको प्रश्नमा ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै “बहुत राम्रो” भनेका छन्, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

बालेनसँग निकट स्रोतहरूका अनुसार उनले अहिले विभिन्न समूहसँग सुझाव लिने, सम्भावित सहयात्री पहिचान गर्ने र पार्टीको भावी खाका तयार गर्ने चरणमा छन्। नयाँ दलमार्फत अघि बढ्ने कि अन्य वैकल्पिक शक्तिसँग सहकार्य गर्ने भन्ने विषयमा उनले केही समयभित्र स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका बालेनको यो राजनीतिक सक्रियताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖