• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेनले बाबुरामलाई भने: म राजनीतिमा आएं,अभिभावक बनेर सहयोग गर्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सँग भेट गर्दै आफू राजनीतिमा होमिएको जानकारी गराएका छन्। बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा भएको भेटवार्तामा बालेनले भट्टराईसँग राजनीतिक मार्गदर्शन र सहयोगको आग्रह गरेका हुन्।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले बालेनले फोन गरेर वैकल्पिक राजनीतिको विषयमा छलफल गर्न बोलाएको जानकारी दिए। “नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्छ भन्ने पक्षको मान्छे हुँ। यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएँ,” भट्टराईले भने।

स्रोतका अनुसार भेटका क्रममा बालेनले आफू औपचारिक रूपमा राजनीतिमा प्रवेश गरिसकेको बताउँदै भट्टराईलाई अभिभावकको भूमिकामा रहेर सरसल्लाह र सहयोग गर्न आग्रह गरेका थिए। उनले आगामी दिनमा नयाँ राजनीतिक शक्ति निर्माणतर्फ लाग्ने योजना पनि साझा गरेका छन्।

राजनीतिक दल खोल्ने तयारीमा रहेका बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने विषयमा समेत भट्टराईसँग सुझाव मागेका छन्। बैठकमा सहभागी स्रोतका अनुसार बालेनले रास्वपासँग मिलेर जान उपयुक्त हुन्छ कि हुँदैन, पावर सेयरिङ कसरी गर्ने, र विगतका अनुभवका कारण देखिएका प्राविधिक कठिनाइबारे चासो व्यक्त गरेका थिए।

“रास्वपासँग मिल्दा सहकार्य हो कि विलय? पावर सेयरिङ कसरी गर्ने? विगतको अनुभव त्यति सकारात्मक छैन,” भन्दै बालेनले विकल्पबारे स्पष्ट सुझाव मागेको स्रोतले जनाएको छ।

छलफलका क्रममा बालेनले अब आफू नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेको र आगामी निर्वाचन ‘फेस गरेरै जाने’ तयारीमा रहेको जानकारी पनि गराएका छन्। “म एउटा शक्ति निर्माणको तयारीमा जुटेको छु। चुनावमा जाने हो, के गर्दा उपयुक्त होला?” भन्दै उनले भट्टराईसँग मार्गदर्शन मागेका थिए।

उक्त भेटवार्तालाई स्थानीय नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ बालेनको सम्भावित कदमका रूपमा हेरिएको छ। वैकल्पिक राजनीतिक धारलाई एकीकृत गर्ने प्रयासका रूपमा यस छलफललाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖