काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले जेनजी आन्दोलनसँग समन्वयको जिम्मेवारी रक्षा बमलाई सुम्पेका छन् भने अन्य स्वतन्त्र तथा स्थानीय नेताहरूसँगको राजनीतिक तालमेल आफूले गर्ने बताएका छन्।
आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै सक्रिय राजनीतिक तयारीमा जुटिरहेका बालेनले जेनजी समूहलाई पनि साझा यात्रामा जोड्ने रणनीति अघि सारेका हुन्। यसका लागि जेनजीसँग संवाद र सहकार्यको संयोजन रक्षा बममार्फत गर्ने निर्णय भएको छलफलमा सहभागी बालेन निकट नेताले जानकारी दिए।
जेनजी आन्दोलनबाट चर्चामा आएकी रक्षा बमसँग भएको भेटवार्तामा बालेनले स्पष्ट रूपमा भूमिका बाँडफाँटको संकेत गरेका थिए। छलफलमा सहभागी नेताका अनुसार बालेनले बमलाई जेनजीसँग समन्वय गर्न आग्रह गर्दै गोपी हमालदेखि हर्क साम्पाङसम्मका नेताहरूसँगको सहकार्य आफूले सम्हाल्ने बताएका छन्।
