नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको अवस्थामा देशमा चुनाव हुने कुनै सम्भावना नरहेको बताएका छन्। पार्टीको ११औँ महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
ओलीले देशमा चुनावको वातावरण नबनेको मात्र होइन, निकट भविष्यमा त्यस्तो वातावरण बन्ने संकेत पनि नदेखिएको बताए। उनले चुनावको वातावरण कसले बिगारेको भन्ने प्रश्न उठाउँदै भने, “चुनावको वातावरण हामीले बिगारेका हौँ र ? हामीले मान्छे मार्छौँ, काट्छौँ भनेर हिँडेका छौँ ? नेताहरूलाई घरबाट निस्कन नदिने भनिएको छ र ?”
उनले एमाले चुनावविरोधी नभएको स्पष्ट पार्दै आफूहरू प्रतिगमनविरोधी र अग्रगमनका पक्षमा रहेको बताए। ओलीका अनुसार वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न संसद् पुनर्स्थापनाको आवश्यकता रहेको विषय पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छ।
कार्यक्रममा ओलीले लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्दै संवैधानिक र राजनीतिक स्थायित्वका लागि एमाले प्रतिबद्ध रहेको दाबी गरे। वर्तमान परिस्थितिमा चुनावभन्दा पनि राजनीतिक सहमति र स्थायित्व आवश्यक रहेको उनको भनाइ थियो।
