काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा आज सर्वोच्चले निर्णय सुनाउने (निसु) भएको छ ।
यो रिटमा न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्णय सुनाउने भएको हो । यसअघि हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
साथै संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा पेस भएको देखिँदा प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट निरूपण गर्नुपर्ने प्रकृतिको देखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन भन्ने आदेश जारी गरेको थियो ।
