• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रबि,कुलमान र बालेनसंग कहिल्यै मिल्दिन,तीनै जना बिदेशी :हर्क साम्पांग


  • धनकुटा खबर
  • .

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र ऊर्जा मन्त्री कुलमान घिसिङसँग कुनै पनि हालतमा सहकार्य नगर्ने स्पष्ट घोषणा गरेका छन्। उनले यी तीनै नेता विदेशी शक्तिको इसारामा चलेको आरोप लगाउँदै आफू त्यस्तो शक्तिसँग सम्झौता नगर्ने बताए।

शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा श्रम संस्कृति पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै साम्पाङले नयाँ राजनीतिक शक्तिका नाममा उदाएका नेताहरूलाई तीव्र आलोचना गरे। उनले आफू देशको माटो, श्रम र आत्मनिर्भरताको पक्षमा उभिएको दाबी गर्दै आगामी निर्वाचनमा एक्लै होमिने उद्घोष गरे। “म देशको माटोसँग सम्झौता गर्छु, तर विदेशी इसारामा चल्नेहरूसँग होइन,” उनले भने।

भाषणको अधिकांश समय नयाँ भनिएका नेताहरूप्रति आक्रोश व्यक्त गर्दै साम्पाङले पुराना शक्तिहरूले देश दोहन गरिरहेको र नयाँ शक्तिहरूले विदेशी स्वार्थ पूरा गर्न देशलाई रणभूमि बनाउन खोजेको आरोप लगाए। उनले आफू र आफ्नो पार्टी मात्रै देशको सच्चा शक्ति भएको दाबी गर्दै श्रम संस्कृतिमार्फत आत्मनिर्भर नेपाल निर्माण गर्ने अभियानमा लागेको बताए।

विदेशी उत्पादनमा बढ्दो परनिर्भरताले देश कमजोर बन्दै गएको उल्लेख गर्दै साम्पाङले स्वदेशी उत्पादन, श्रम र आत्मसम्मानको राजनीति आवश्यक भएको धारणा राखे। “हामी श्रमलाई सम्मान गर्ने संस्कृतिमार्फत देशलाई आत्मनिर्भर बनाउनेछौं,” उनले भने।

कार्यक्रममा जिल्लाका पुराना वामपन्थी नेता भिम किराँतले पनि श्रम संस्कृति पार्टीमा सामेल भएको घोषणा गरे। उनले हर्क साम्पाङको श्रम–आधारित राजनीतिक दर्शनप्रति विश्वास व्यक्त गर्दै पार्टीको अभियानमा सक्रिय भूमिका खेल्ने बताए।

साम्पाङले आगामी चुनावमा एक्लै लडेर उल्लेख्य सिट जित्ने दाबीसमेत गरे। नयाँ र पुराना सबै शक्तिमाथि आक्रमण गर्दै उनले आफू वैकल्पिक होइन, वास्तविक परिवर्तनको शक्ति भएको जिकिर गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖