नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहँदा त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएकोप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विचार मिल्नेहरू एक ठाउँमा उभिनु स्वाभाविक र सकारात्मक भए पनि त्यसलाई देशको “उद्धार” सँग जोडेर प्रस्तुत गर्नु भ्रामक भएको बताएका छन्।
ज्ञवालीले पछिल्लो समय ती नेताहरूबीचको भेटघाटलाई लिएर ‘मानौँ नेपाल अहिलेसम्म नबनिनु नै यिनीहरू नमिलेकै कारण हो’ भन्ने प्रकारको कथा निर्माण गर्न खोजिएको आरोप लगाए। उनले दक्षिण भारतीय चलचित्रको उदाहरण दिँदै कुनै नायकले रंगमञ्चमा खुट्टा बजार्दै सबै खलनायकलाई समाप्त पार्ने कल्पनाजस्तै गरी ‘तारणहार’ खोज्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। यस्ता तिलस्मी अपेक्षाले देशलाई कहीँ पनि नपुर्याउने उनको ठहर छ।
उनले लेखेका छन्, “ती व्यक्तिहरूको मिलनले कुनै तारणहार जन्मिन्छ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ। तर यस्तो कल्पनाले न त शासन प्रणाली बनाउँछ, न त संस्थागत विकास हुन्छ।” देश निर्माण व्यक्तिको मात्र भूमिकाले सम्भव नहुने भन्दै उनले विचार, संस्था, प्रणाली र सामूहिकताको अनिवार्य आवश्यकता औँल्याए।
ज्ञवालीले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, बहुलता र विविधताले भरिएको समाजको समन्वय, बदलिँदो भू–राजनीतिक अवस्थाबीच राष्ट्रिय हितको संरक्षण, जलवायु परिवर्तनजस्ता गम्भीर चुनौती र संविधानका विषयमा के जोगाउने र के परिमार्जन गर्ने भन्ने प्रश्नहरूमा कुनै ठोस वैकल्पिक उत्तर नआएको दाबी गरे। उनका अनुसार अहिले देखिएको उत्साहमा स्पष्ट नीति, सिद्धान्त र दीर्घकालीन सोचको अभाव छ।
उनले मिडियाको भूमिकामाथि पनि कटाक्ष गरेका छन्। केही मिडियामा देखिएको ‘युफोरिया’ ले दुई दशकअघिको समय सम्झाएको उल्लेख गर्दै उनले जनसरकार घोषणाका समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिएका, हिंसालाई महिमामण्डन गरिएको र ‘नयाँ नेपाल’ का सपनाहरू बेचिएका दिनहरूको स्मरण गराएका छन्। आज ती सपनाहरू कपुरको बास्नाजस्तै हराइसकेको भन्दै उनले इतिहासबाट पाठ सिक्न आग्रह गरे।
ज्ञवालीले अन्त्यमा समाजलाई भावनात्मक उन्मादभन्दा तर्कसंगत सोचतर्फ लैजानुपर्नेमा जोड दिए। “घोडा पानीदार हो कि होइन भन्ने निर्णय लामो दौडले गर्छ,” भन्दै उनले क्षणिक उत्साह र अतिरञ्जित अपेक्षाले अन्ततः गहिरो निराशा जन्माउने चेतावनी दिए। “स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ,” भन्दै उनले यथार्थवादी दृष्टिकोण अपनाउन सबैलाई अपिल गरेका छन्।
