• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सानो घर, साधारण सवारी र आधारभूत सुविधा दिन सके युवालाई नेपालमै रोक्न सकिन्छ : मन्त्री कुलमान घिसिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले युवाहरूलाई स्वदेशमै राख्न सक्ने हो भने उनीहरूको आधारभूत जीवन आवश्यकतालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सानो घर, साधारण सवारी साधन तथा शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गर्न सके युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था नआउने उनको भनाइ छ।

राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले युवाहरूको न्यूनतम सपना पूरा गराउने वातावरण बनाउन सकिए नेपालमै बस्ने सम्भावना बलियो हुने बताए। उनले सरकारको दायित्व केवल “नेपालमै बस” भन्ने नारा दिनु मात्र नभई बस्न सक्ने वातावरण सिर्जना गर्नु भएको स्पष्ट पारे।

‘नेपाली युवाहरूको सपना ठूलो महल होइन, एउटा सानो घर, एउटा साधारण गाडी, आफ्ना छोराछोरीलाई राम्रो शिक्षा र समयमै स्वास्थ्य सेवा पाउने सुविधा हो,’ मन्त्री घिसिङले भने, ‘यदि सरकारले यी कुरालाई आधारभूत आवश्यकताका रूपमा लिएर सहज ऋण र सुविधाको व्यवस्था गर्‍यो भने युवाहरू स्वदेशमै भविष्य खोज्न सक्छन्।’

उनका अनुसार अहिलेको मुख्य समस्या भनेको अवसर र आशाको अभाव हो। ‘नेपालमै बस भन्नु तर रोजगारी सिर्जना नगर्नु, सम्भावना नदेखाउनु र जीवन सुरक्षित बनाउने आधार नहुनु नै युवाहरू विदेशिनुको मुख्य कारण हो,’ उनले उल्लेख गरे।

मन्त्री घिसिङले यसलाई नेपालको प्रारम्भिक आर्थिक रूपान्तरण (Economic Transformation) को सुरुआती बिन्दुका रूपमा लिनुपर्ने बताए। आगामी सरकारले युवामैत्री नीति निर्माण गरी आवास, यातायात, शिक्षा र स्वास्थ्यलाई समग्र विकासको केन्द्रमा राख्नुपर्ने उनको जोड थियो।

‘युवाहरू नेपालमै बस्न चाहन्छन्। तर त्यसका लागि घर, सवारी, शिक्षा र स्वास्थ्य सहज रूपमा पाउने वातावरण हुनुपर्छ। यहीँबाट नेपालको आर्थिक रूपान्तरण सुरु हुनुपर्छ,’ उनले भने।

हालको सरकार अल्पकालीन भएकाले धेरै अपेक्षा गर्न नहुने बताउँदै मन्त्री घिसिङले दीर्घकालीन विकासका लागि ऐन, कानून र प्रक्रियागत झन्झट हटाउन आवश्यक रहेको धारणा राखे। उनले कानूनी जटिलता र अनावश्यक प्रक्रियाले विकासलाई अवरुद्ध गरिरहेको उल्लेख गर्दै सुधार अपरिहार्य भएको बताए।

‘नेपालको द्रुत विकासका लागि अहिलेका ऐन, कानून र प्रक्रियागत समस्याहरू हटाउनैपर्छ। नत्र युवाहरूलाई नेपालमै रोक्ने कुरा भाषणमै सीमित हुन्छ,’ मन्त्री घिसिङले चेतावनी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖