काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमतिअनुसार आगामी माघ पहिलो हप्तादेखि महानगरको नेतृत्व कमाण्ड उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने भएकी छन्।
सहमतिअनुसार बालेन प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुँदैछन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताअगाडि यदि कुनै स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधि हुनुहुन्छ भने कानुनअनुसार राजीनामा दिनुपर्ने प्रावधान छ।”
बालेनले आफ्नो पदबाट राजीनामा दिँदा महानगरको नेतृत्व सुनिताले कार्यवाहक मेयरको रूपमा सम्हाल्नेछिन्। निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति माघ ६ गते तोकेको छ। यसअनुसार बालेनले राजीनामा ५ वा ६ गते दिने र मनोनयन दर्ता गर्ने अपेक्षा छ।
