रवि-बालेन सहमतिपछि पुराना दलका नेताहरू चुनाव नलड्ने निर्णय गर्न थालेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। भुसालले भनिन्, “म दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु।
काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चिउरा चपाउनु जस्तो चुनौतीपूर्ण काम हो। देशभरिका साथीहरूले आगामी निर्वाचनमा मेरो उम्मेदवारीबारे जिज्ञासा राखिरहे। तर यसपटक म दुवै-प्रत्यक्ष र समानुपातिक-निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।
अब मेरो राजनीतिक अनुभव र सिकाइलाई पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नु आवश्यक छ भन्ने मेरो ठम्याइ हो।”
