काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच औपचारिक रूपमा एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुई दलबीच भएको यो सहमतिलाई पछिल्लो समय विकसित नयाँ राजनीतिक परिस्थिति र वैकल्पिक तथा अग्रगामी शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।
सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहनेछ भने चुनाव चिन्ह ‘तारा’ कायम गरिनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति, मातहतका समिति र जनवर्गीय संगठनहरू आपसी सहमतिमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गरिनेछ ।
सहमति पत्रमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको उल्लेख गर्दै विविधतामा एकता नेपाली राष्ट्रिय विशेषता भएको स्वीकार गरिएको छ । विगतका जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह र पछिल्लो जेन–जी आन्दोलनपछि बनेको राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अग्रगामी परिवर्तनका पक्षधर सबै शक्तिलाई एकताबद्ध गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
दुवै पार्टीले विगतमा सरकार र राज्यका निकायमा रहँदा भएका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धिको आधारमा समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सडक, सदन र सरकार तीनै तहबाट संघर्ष गर्दै संघीय समाजवादी गणतन्त्रलाई सुदृढ बनाउने सहमतिमा उल्लेख छ ।
सहमति पत्रमा नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमका रूपमा अंगीकार गर्दै वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक विभेद अन्त्य गरी समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिइएको छ । पार्टी सञ्चालन सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिअनुसार गरिनेछ ।
संविधानका सकारात्मक पक्षको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनालाई सशक्त बनाउने विषयमा नवयुवा पुस्ताको भावनालाई समेत समेटेर आवश्यक संविधान संशोधन र अग्रगामी परिमार्जनका लागि पहल गर्ने सहमतिमा उल्लेख छ । साथै महिला, थारू, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएका वर्ग र क्षेत्रलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने प्रतिबद्धता जनाइएको छ ।
सहमतिपत्रमा टिकापुर घटनासँग सम्बन्धित प्रतिशोधपूर्ण मुद्दा खारेज गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि समेटिएको छ । श्रमिक वर्ग र उत्पीडित समुदायको एकतामा जोड दिँदै समाजवादी रूपान्तरणका लागि राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य अघि सारिएको छ ।
२०८२ पुस १४ गते सम्पन्न सहमतिपत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । दुवै दलले यो एकीकरणलाई देशको अग्रगामी राजनीतिक यात्राको नयाँ चरणका रूपमा प्रस्तुत गर्दै समान विचारधारा भएका सबै शक्ति र व्यक्तिलाई नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन आह्वान गरेका छन् ।
