• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा छोडेकोमा पछुतो छैन, सहकार्यको ढोका खुल्लै छ:सन्तोष परियार


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका नेता सन्तोष परियारले रास्वपा छोडेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन्।

सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका परियारले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजनीतिमा नेतृत्वले पछुतो मान्ने निर्णय नगर्ने जिकिर गरे।

‘राजनीतिमा पछुतो लाग्ने काम राजनीतिक नेतृत्वले गर्दैनन्। समयको महत्त्व र निर्णय गर्न सक्नु नै आफैंमा महत्त्वपूर्ण कुरा हो,’ परियारले भने।

रास्वपा सभापति रवि लामिछानेसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले आफूहरू बिच सौहार्दपूर्ण सम्बन्ध रहेको संकेत गरे।

‘पछिल्लो समय व्यस्तताले भेट भएको छैन। तर उहाँले पनि विभिन्न माध्यमबाट मेरा बारेमा राम्रै कुरा गर्नुभएको छ, मैले पनि उहाँका बारेमा राम्रै कुरा गरेको छु,’ उनले भने।

परियारले मुद्दाका आधारमा रास्वपासँग सहकार्यको ढोका खुला रहेको बताए। रास्वपा र बालेन शाहबिचको सहकार्यलाई शुभकामना दिँदै उनले आफ्नो पार्टी पनि सहकार्यका लागि तयार रहेको सुनाए।

‘अहिले औपचारिक छलफल चलेको छैन। तर भोलि राष्ट्र हित, जनजीविका र विशेषगरी पछिल्लो समय जेन-जी आन्दोलनले उठाएका मुद्दाहरूमा सहकार्य गर्ने ठाउँ रह्यो भने नगर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘सहकार्यका लागि हाम्रो पनि ढोका खुल्लै छ।’

समानुपातिक सूची बुझाउन आफ्नो पार्टीलाई कुनै सकस नपरेको दाबी गर्दै परियारले आफ्नो दल पूर्ण समावेशी रहेको बताए। उनले आफ्नो पार्टीको सूचीमा युवा पुस्ताको बाहुल्य रहेको दाबी गरे।

‘जेन-जी आन्दोलनबाट आउनुभएका र जेन-जी नेता नै हाम्रो पार्टीमा हुनुहुन्छ। सूची प्रकाशित भएपछि थाहा पाउनुहुनेछ, सबैभन्दा बढी युवा प्रतिनिधित्व हाम्रैमा हुनेछ,’ उनले भने।

आफू प्रत्यक्ष वा समानुपातिक कुन प्रणालीबाट उम्मेदवार बन्ने भन्ने विषय भने अझै छलफलकै क्रममा रहेको उनले जानकारी दिए। बन्दसूची बुझाउन प्रलोपाका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीसहितका नेताहरू आयोग पुगेका थिए।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖