काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान साढे ११ बन्दसूची बुझाएका हुन् ।
बन्दसूचीको पहिलो नम्बरमा आदिवासी जनजातितर्फ पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बे छन् भने खस आर्यतर्फ नेता अर्जुननरसिंह केसी पहिलो नम्बरमा छन् ।
कोशी प्रदेशबाट समानुपातिकका लागि आङ्देम्बेको नाम सिफारिस भएर आएको थियो ।
२०७९ को चुनावमा एमालेका वसन्त नेम्वाङसँग ४७ मतको कमीले स्तब्ध भएका भिष्म २०७४ पनि एमालेकै बसन्तसँगै पराजित भएका थिए । २ पटक लगातार पराजय भोगेको र जिल्लामा पनि उनको पार्टीभित्रै आधार कमजोर बन्दै गएपछि आदिवासी जनजातिबाट पहिलो नम्बरमा समानुपातिकतर्फ बस्न खोजेका थिए ।
त्यस्तै २०३८ देखिका सबै चुनाव लडेका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिक सूचीको प्राथमिकतामा परेका छन् । उनले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
