• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको ‘प्राइमरी’ नाटक ? डा. रामजीको घोषणा— ‘साथीको नाम काटिँदा मलाई लज्जा भयो’


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक लोकतन्त्र र उम्मेदवार चयन प्रक्रियामा देखिएको विरोधाभासलाई लिएर चिकित्सक तथा राजनीतिक टिप्पणीकर्ता डा. रामजी रामले गम्भीर प्रश्न उठाएका छन्, जसले पार्टीभित्र विधि मिचिएको, अस्तव्यस्तता बढेको र नातावाद तथा कृपावाद हावी हुन थालेको संकेत गरेको छ।

डा. रामले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले उम्मेदवार छनोटका लागि लोकतान्त्रिक विधि भन्दै ‘प्राइमरी इलेक्सन’ (आन्तरिक मतदान) गराएको भए पनि निर्वाचन आयोगमा बुझाइएको अन्तिम समानुपातिक बन्दसूचीमा उक्त मतपरिणामको सम्मान नगरिएको दाबी गरेका छन्।

उनका अनुसार, प्राइमरी इलेक्सनमा दलित क्लस्टरबाट सर्वाधिक मत ल्याउन सफल भएका विजय जैरुको नाम समानुपातिक बन्दसूचीबाट पूर्ण रूपमा हटाइएको छ, जबकि कम मत ल्याउने वा अन्य आधारमा छानिएका व्यक्तिहरूलाई सूचीमा माथि राखिएको देखिन्छ।

पार्टीको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै डा. रामले सर्वाधिक मत ल्याउने योग्य उम्मेदवारको नाम सूचीमा नहुनु तर आफ्नो नाम समावेश हुनुले आफूलाई नैतिक रूपमा ‘लज्जा बोध’ भएको उल्लेख गरेका छन्। उनले रास्वपा नेतृत्वलाई विधि र सुशासनको नारा केवल शब्दमा मात्र सीमित नराख्न चुनौती दिँदै, यदि प्राइमरी इलेक्सन नै छनोटको आधिकारिक आधार हो भने विजय जैरुलाई स-सम्मान उचित स्थानमा पुनर्स्थापित गर्न माग गरेका छन्।

डा. रामले जैरुको स्थान सुनिश्चित गर्नका लागि आवश्यक परे आफू सूचीबाट हट्न वा पार्टीभित्र अन्य भूमिकामा रहेर न्याय र सुशासनका लागि निरन्तर खबरदारी गर्न तयार रहेको उद्घोष समेत गरेका छन्। निर्वाचनको संघारमा पार्टीभित्रैबाट उठेको यो नैतिक प्रश्नले रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा र आन्तरिक लोकतन्त्रको अभ्यासमाथि नेतृत्वले जवाफ दिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖