• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आइतबारसम्म सहमति नभए आन्दोलनमा जाने दुर्गा प्रसाईको चेतावनी


  • धनकुटा खबर
  • .

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफूले अघि सारेका मागहरू सम्बोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्मको समय मागेको बताएका छन्। प्रधानमन्त्रीसँग भएको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले सरकारलाई आइतबारसम्म कुर्ने स्पष्ट पारेका हुन्।

उनका अनुसार प्रधानमन्त्री कार्कीले आइतबारसम्म दुवै पक्षबीच छलफल गरी सहमति जुटाउने र सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयनको निर्णय गर्ने प्रस्ताव राखेकी छन्। ‘प्रधानमन्त्रीज्यूले आइतबारसम्मको समय दिनुस् भन्नुभएको छ। आइतबार सहमति गर्ने र सोमबार मन्त्रिपरिषद्बाट निर्णय गर्ने कुरा भएको छ,’ प्रसाईँले भने, ‘आइतबार सक्ने कि नसक्ने त्यसपछि भन्नुहुन्छ भन्ने कुरा छ।’

दुर्गा प्रसाईँले आइतबारसम्म सहमति नजुटे आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्। उनले नेपाल सबैको साझा देश भएकाले कुनै एक पक्षलाई दबाएर वा रुवाएर चुनावमा जान नसकिने धारणा राखे। जनताको असन्तुष्टिलाई बेवास्ता गरेर अघि बढे त्यसको परिणाम गम्भीर हुनसक्ने उनको भनाइ छ।

भेटका क्रममा आफूले प्रधानमन्त्री कार्कीसमक्ष जनमत सङ्ग्रहमा जान प्रस्ताव राखेको पनि प्रसाईँले बताए। तर प्रधानमन्त्रीले संविधानअनुसार जनमत सङ्ग्रहमा जान संसदबाट दुई तिहाइ बहुमत आवश्यक हुने जवाफ दिएको उनको भनाइ छ। यसप्रति आपत्ति जनाउँदै प्रसाईँले भने, ‘तपाईं पनि दुई तिहाइबाट प्रधानमन्त्री बन्नुभएको होइन। जुन बाटोबाट प्रधानमन्त्री बन्नुभयो, त्यही बाटोबाट जनमत सङ्ग्रहमा जाऔँ। खाली संविधान पल्टाएर नबसौँ।’

प्रसाईँले वर्तमान अवस्थामा देशमा संविधान व्यवहारिक रूपमा लागू नभएको दाबीसमेत गरे। उनका अनुसार राज्य संयन्त्र संविधानको मर्मअनुसार नचलेको कारण जनतामा व्यापक असन्तुष्टि बढ्दै गएको छ।

आइतबार हुने सम्भावित छलफल र सहमतिले सरकार र अभियानबीचको टकराव समाधान हुन्छ कि आन्दोलनतर्फ जाने भन्ने विषयमा देशको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖