लन्डन । बेलायतमा हत्या अभियोगमा २३ वर्षदेखि जेल सजाय काटिरहेका ओमर बेन्गुइटको बारेमा नयाँ प्रमाण सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ । बीबीसीका अनुसार पानारोमा अनुसन्धानले उनलाई गलत रूपमा फसाइएको हुनसक्ने सङ्केत गरेको हाे ।
दक्षिण कोरियाली विद्यार्थी जोंग ओक शिनको सन् २०२२ मा बोर्नमाउथमा हत्या भएको थियो । बेन्गुइटलाई सन् २००५ मा तेस्रो सुनुवाइपछि हत्यामा दोषी ठहर गरिएको थियो ।
यसअघिका दुई ज्यूरीले भने यसमा फैसला दिन सकेका थिएनन् । मुद्दामा सीसीटीभी वा वैज्ञानिक प्रमाण नभएकाले अभियोजन पक्ष साक्षीहरूको बयानमा भर परेका थिए ।
नयाँ अनुसन्धानका अनुसार मुख्य साक्षीको बयान सीसीटीभी फुटेजसँग मेल नखाने भए पनि प्रहरीले त्यो तथ्य लुकाएको आरोप छ । साथै, अभियोजन पक्षका १३ जना साक्षीले आफूहरूलाई बयान बढाएर बाेल्न वा अदालतमा झूट बोल्न दबाब दिइएको बीबीसीलाई बताएका छन् ।
दुई जना थप साक्षीले अदालतमा झूट बोलेको स्वीकार गरेका छन् भने चार जनाले प्रहरीले गलत बयान दिन आग्रह गरे पनि आफूहरूले अस्वीकार गरेको बताएका छन् ।
फोन रेकर्डले बेन्गुइटसँग घटनाको समयमा अलिबी रहेको सङ्केत गरेको र प्रहरीले त्यसलाई महत्त्व नदिएको दाबी गरिएको छ । यसले अभियोजन पक्षका मुख्य प्रमाणहरू कमजोर बनेका छन् । पूर्व अनुसन्धान अधिकारी ब्रायन मर्फीले प्रस्तुत प्रमाणको समीक्षा गर्दै यो मुद्दाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् ।
उनका अनुसार बेन्गुइटको दोष सुरक्षित देखिँदैन । बचाउ पक्षका वकिल डेस जेन्सनले यदि प्रहरीले साक्षीलाई झूट बोल्न बाध्य पारेको प्रमाणित भए न्याय प्रक्रिया नै बिगारिएको ठहरिने बताएका छन् ।
डोर्सेट प्रहरीले भने आफ्नो अनुसन्धान जटिल र विस्तृत रहेको प्रतिक्रिया दिएको छ ।
