• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र…


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र आफ्नो माग पूरा नभए इरानमाथि ‘नर्कको वर्षा’ गराउने चेतावनी उनले दिएका हुन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘याद छ, मैले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न १० दिनको समय दिएको थिएँ। अब समय सकिँदै छ। ४८ घण्टापछि उनीहरूमाथि नर्कको वर्षा हुनेछ। राष्ट्रपति डोनाल्ड जे. ट्रम्प।’

यसअघि मार्च २७ मा ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमाथिको आक्रमणलाई १० दिनका लागि रोक्ने घोषणा गरेका थिए। त्यसभन्दा केही समयअघि मात्रै गरेको अर्को पोस्टमा उनले अमेरिकाको अर्थतन्त्रमा ट्यारिफले ल्याएको फाइदाबारे चर्चा गरेका थिए। उक्त पोस्टको अन्त्यमा उनले लेखेका छन्, ‘यी सबैका साथसाथै, परमाणु इरानबाट छुटकारा पाउँदै छौँ।’

स्ट्रेट अफ होर्मुज खोल्न वा सम्झौता गर्न भन्दै ट्रम्पले पछिल्लो समय इरानलाई बारम्बार चेतावनी दिँदै आएका छन्। मार्च २१ मा उनले इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज नखोले इरानका सबैभन्दा ठूला ऊर्जा केन्द्रहरूबाट सुरु गर्दै विभिन्न पावर प्लान्टहरू ध्वस्त पार्ने धम्की दिएका थिए।

त्यसपछि मार्च २३ मा उनले दुई देशबिच ‘निकै राम्रो र फलदायी कुराकानी’ भएको दाबी गर्दै इरानको ऊर्जा पूर्वाधारमाथिको सैन्य आक्रमण ५ दिनका लागि स्थगित गरेको बताएका थिए।

पछि फेरि मार्च २७ मा इरानी सरकारको आग्रहअनुसार भन्दै उनले ऊर्जा केन्द्रहरूमाथिको आक्रमणलाई थप १० दिन (अप्रिल ६ सम्म)का लागि रोकेको घोषणा गरेका थिए।

अहिले सोही १० दिने म्याद सकिन लाग्दा ट्रम्पले फेरि एकपटक कडा चेतावनीसहित इरानलाई ४८ घण्टाको समयसीमा दिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖