• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

इरानलाई ट्रम्पको चेतावनी: ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुन सक्छ’


  • धनकुटा खबर
  • .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि दिएको समयसीमा नजिकिँदै गर्दा गम्भीर चेतावनी दिएका छन् । ट्रम्पले इरानलाई हर्मुज जलसन्धि पुनः सञ्चालनका लागि सम्झौता गर्न मंगलबार अमेरिकी समय राति ८ बजेसम्मको अन्तिम चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा निकै आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले सम्झौता भएन भने आज राति एउटा पूरै सभ्यता मर्ने धम्की दिएका हुन् ।

उनले लेखेका छन्, ‘यदि सम्झौता भएन भने आज राति एउटा पूरै सभ्यता मर्नेछ, जुन फेरि कहिल्यै फर्किने छैन। म यस्तो होस् भन्ने चाहन्न, तर सायद यो हुनेवाला छ।’ उनले इरानमा शासन परिवर्तन भइरहेको दाबी गर्दै अझै पनि क्रान्तिकारी र राम्रो केही हुन सक्ने झिनो आशा भने व्यक्त गरेका छन्।

यसैबीच, अमेरिकी सेनाले इरानको मुख्य तेल निर्यात केन्द्र मानिने खार्ग टापुमा रहेका सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार यी आक्रमणहरू सैन्य अखडालाई लक्षित गरी गरिएका हुन् । तर तेल उत्पादनका पूर्वाधारहरूलाई भने क्षति पुर्‍याइएको छैन।

हंगेरीको बुडापेस्टमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानसँग अब दुईवटा मात्र बाटो बाँकी रहेको बताएका छन्। उनले भनेका छन्, ‘या त इरानले आतंकवादलाई सहयोग गर्न छोडेर सभ्य मुलुकका रूपमा विश्व वाणिज्य प्रणालीमा जोडिनुपर्छ, नत्र उसले झनै खराब आर्थिक संकट र सैन्य क्षति भोग्नुपर्नेछ।’ भेन्सले युद्ध कसरी टुङ्गिन्छ भन्ने कुरा अब इरानको निर्णयमा भर पर्ने स्पष्ट पारेका छन्।

यता, इरानी सञ्चारमाध्यमहरूका अनुसार कासान शहरको एक रेलवे पुलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यसअघि नै इजरायली सेनाले इरानी नागरिकहरूलाई सुरक्षाको कारण देखाउँदै रेल यात्रा नगर्न चेतावनी दिएको थियो।

क्षेत्रीय तनाव झनै बढ्दै जाँदा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले साउदी अरबको जुबैल क्षेत्रमा रहेको एक पेट्रोकेमिकल प्लान्टमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेको छ। सोमबार इरानका पेट्रोकेमिकल प्लान्टहरूमा भएको आक्रमणको बदला लिन यो कदम चालिएको इरानको भनाइ छ । यद्यपि साउदी अधिकारीहरूले यसमा हालसम्म कुनै टिप्पणी गरेका छैनन्।

राष्ट्रपति ट्रम्पले यसअघि पनि पटक–पटक यस्ता समयसीमा तोक्ने र पछि पछि सार्ने गरेका थिए। तर, यसपटकको उनको ‘सभ्यता नै समाप्त हुने’ जस्तो खतरनाक धम्की दिएपछि विश्वभर तरंग उत्पन्न भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖