• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुनको भाउ तीन हप्तायताकै उच्च


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि बजारमा उर्जा संकट र महँगी बढ्ने त्रास केही कम भए पनि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउ बुधबार तीन हप्तायताकै उच्च विन्दुमा पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २.३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२.४९ अमेरिकी डलर कायम भएको छ। कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।

अमेरिकी बजारमा जुन महिनाका लागि सुनको फ्युचर्स मूल्य पनि ३.४ प्रतिशतले वृद्धि भई प्रतिऔँस ४,८४१.६० डलर पुगेको छ। राष्ट्रपति ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्दै दुई हप्ताको ‘पज’ घोषणा गरेपछि लगानीकर्ताहरूले निकट भविष्यको जोखिमलाई पुनः मूल्याङ्कन गर्न थालेका छन्।

यसअघि ट्रम्पले होर्मुज जलमार्ग नखोले इरानलाई सिध्याइदिने धम्की दिएका थिए, जसका कारण विश्व बजार त्रसित बनेको थियो। स्वतन्त्र धातु व्यापारी ताई वाङका अनुसार यो मूल्य वृद्धि बजारको तत्कालिन प्रतिक्रिया मात्र हो र इरानले सम्झौता पालना गर्छ वा गर्दैन भन्ने कुराले आगामी दिशा तय गर्नेछ। अब सुनका लागि प्रतिऔँस ४,९३० देखि ५,००० डलरको विन्दु मुख्य चुनौतीका रूपमा हेरिएको छ।

पाकिस्तानले मध्यस्थता गरिरहेको यो कूटनीतिक प्रयासले युद्धको पूर्ण अन्त्यको संकेत भने अझै दिएको छैन। इरानको सर्वोच्च सुरक्षा परिषद्ले अप्रिल १० देखि इस्लामावादमा वार्ता सुरु हुने बताए पनि यसलाई युद्धकै अन्त्य मान्न नसकिने स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖