बगदाद । इराकको राजधानी बगदादमा एक हप्ताअघि अपहरण गरिएकी अमेरिकी स्वतन्त्र पत्रकार शेली किटलसन रिहा भएकी छिन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनको रिहाइको पुष्टि गरेका हुन् ।
इरान समर्थित मिलिसिया समूह कतैब हिज्बुल्लाहले मङ्गलबार किट्लेसनलाई तुरुन्त इराक छोड्ने सर्तमा रिहा गर्ने घोषणा गरेको थियो । उनलाई मार्च ३१ मा अपहरण गरिएको थियो ।
रुबियोले उनको रिहाइलाई विश्वभर रहेका अमेरिकी नागरिकहरूको सुरक्षाप्रति ट्रम्प प्रशासनको दृढ प्रतिबद्धताको रूपमा व्याख्या गरेका छन् ।
इराकी अधिकारीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै उनले किट्लेसनलाई सुरक्षित रूपमा देश बाहिर पठाउने प्रक्रिया भइरहेको बताए । अपहरण भएको समयमा इराकी सुरक्षा बलहरूले अपहरणकारीहरूको खोजी गर्दै कारबाही चलाएका थिए, जस क्रममा एक सन्दिग्धलाई पक्राउ गरिएकाे थियो ।
यसअघि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीले विदेशी नागरिक अपहरणमा संलग्नहरूलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । किट्लेसनका साथी तथा सुरक्षा विश्लेषक एलेक्स प्लिटसासले उनको रिहाइबारे प्रारम्भमा अमेरिकी सरकारबाट औपचारिक पुष्टि नभएको बताएका थिए ।
अपहरण हुनुअघि अमेरिकी अधिकारीहरूले किट्लेसनलाई इरान समर्थित सशस्त्र समूहबाट सम्भावित खतराबारे चेतावनी दिएका थिए । उनी इटालीको रोममा बसोबास गर्दै अफगानिस्तान, इराक र सिरियाजस्ता द्वन्द्वग्रस्त क्षेत्रहरूमा रिपोर्टिङ गर्दै आएकी पत्रकार हुन् ।
