• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आकाशमा फोटो खिच्ने लोभले ठोकिए दुई फाइटर जेट


  • धनकुटा खबर
  • .

सिओल । आकाशमा उडिरहेका बेला तस्बिर र भिडियो खिच्ने पाइलटको लापरबाहीका कारण दक्षिण कोरियामा दुई वटा अत्याधुनिक फाइटर जेट एक आपसमा ठोकिएको खुलासा भएको छ। सन् २०२१ मा भएको यो घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन दक्षिण कोरियाको अडिट एन्ड इन्स्पेक्सन बोर्डले हालै सार्वजनिक गरेपछि यो विषयले विश्वभर चर्चा पाएको हो।

सैन्य मिसनका क्रममा टेगु सहरको आकाशमा उडिरहेका बेला पाइलटहरूले नियम मिचेर व्यक्तिगत मोबाइलबाट फोटो खिच्न खोज्दा करोडौँको क्षति भएको पुष्टि भएको छ। घटना विवरण अनुसार आफ्नो सैन्य युनिटसँगको अन्तिम उडानलाई स्मरणीय बनाउन एक पाइलटले उडानकै क्रममा फोटो खिच्ने योजना बनाएका थिए।

उनले उडान अघिको ब्रिफिङमै यसबारे जानकारी समेत गराएको प्रतिवेदनमा उल्लेख छ। उडानबाट फर्कने क्रममा ती पाइलटले आफ्नो व्यक्तिगत मोबाइल निकालेर तस्बिर खिच्न थालेपछि अगाडि उडिरहेको लिड विमानका पाइलटले पनि आफ्नो विमानमा रहेका अर्का सह(पाइलटलाई पछाडिको विमानको भिडियो खिच्न लगाएका थिए।

क्यामेरामा राम्रो देखिनका लागि पछाडि रहेको विङ्गम्यान विमानका पाइलटले अचानक आफ्नो जेटलाई उचाइमा पुर्‍याएर उल्टो बनाएपछि दुई विमान अत्यन्तै नजिक पुगेका थिए। विमानहरू ठोकिनबाट जोगाउन अगाडिको विमानले तीव्र गतिमा तल झर्ने प्रयास गरे पनि अन्ततः दुई वटा एफ(१५ के जेटहरू एक आपसमा ठोक्किए।

ठक्करका कारण अगाडिको विमानको देब्रे पखेटा र पछाडिको विमानको पुच्छरको भागमा गम्भीर क्षति पुगेको थियो। विमानमा रहेका पाइलटहरू सकुशल रहे पनि ती विमान मर्मत गर्न मात्रै दक्षिण कोरियाली सेनाको ८८ करोड वन खर्च भएको थियो। सो समयमा पाइलटहरूमाझ यस्तो खालको जोखिमपूर्ण फोटो सेसन गर्ने चलन व्यापक रहेको अडिट बोर्डले जनाएको छ।

घटनापछि ती लापरबाही गर्ने पाइलटलाई वायुसेनाले निलम्बन गरेको थियो र उनले अहिले सेना छोडेर व्यावसायिक एयरलाइन्समा काम गर्न थालिसकेका छन्। वायुसेनाले सुरुमा ती पाइलटसँग मर्मतको सम्पूर्ण खर्च ८८ करोड वन असुल गर्न खोजेको थियो।

तर, पाइलटले उक्त जरिवाना विरुद्ध पुनरावेदन गरेपछि भएको छानबिनमा बोर्डले उनलाई कुल खर्चको १० प्रतिशत अर्थात् ८ करोड ८० लाख वन मात्र तिराउने निर्णय गरेको छ। पाइलटले तस्बिर खिचिरहेको बारे माथिल्लो तहका पाइलटलाई पनि जानकारी रहेको र वायुसेनाले क्यामेरा प्रयोगमा कडाइ नगरेकाले सरकारी तवरबाट पनि कमजोरी भएको बोर्डको ठहर छ। -बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖