काठमाडौं । कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने काजिबिओ नगरपालिकास्थित प्यान–अमेरिकन राजमार्गमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् । विस्फोटमा ३८ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच बालबालिका समेत छन् ।
आउँदो मे ३१ मा हुने राष्ट्रपतीय निर्वाचनअघि भएको यो हिंसात्मक घटनाले देशको सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती खडा गरेको छ । आक्रमणकारीले पहिले एउटा बस र अर्को सवारी प्रयोग गरेर राजमार्गमा ट्राफिक अवरुद्ध गरेका थिए । त्यसपछि एक सिलिन्डर मिनिबसमा खसाल्दा भीषण विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटका कारण राजमार्गमा ठूलो खाडल परेको छ । धेरै सवारीसाधनमा क्षति पुगेको छ । गभर्नर अक्टाभियो गुजम्यानले सार्वजनिक गरेका तस्बिरमा सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएको र घटनास्थलमा भयावह दृश्य देखिएको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यो आक्रमणको दोष सिधै इभान मोर्डिस्कोमाथि लगाएका छन् । मोर्डिस्को कोलम्बियाका ठूला अपराधीमध्ये एक हुन् । उनलाई राष्ट्रपतिले कुख्यात ड्रग तस्कर पाब्लो एस्कोबारसँग तुलना गरेका छन् ।
मोर्डिस्को सन् २०१६ को शान्ति सम्झौता अस्वीकार गर्ने विद्रोही समूहका पूर्वसदस्य हुन् । राष्ट्रपतिले आक्रमणकारीलाई आतंककारी, फाँसिस्ट र लागुऔषध तस्करको संज्ञा दिँदै कडा कारबाहीका निम्ति सेनालाई निर्देशन दिएका छन् ।
पछिल्लो दुई दिनमा मात्र काउका र भाले डेल काउका क्षेत्रमा सार्वजनिक पूर्वाधारलक्षित २६ सानाठूला आक्रमण गरिएको छ ।
राष्ट्रपति पदकी विपक्षी उमेदवार पालोमा भ्यालेन्सियाले सरकारले हिंसा नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै तत्काल कडा कदम चाल्न माग गरेकी छन् ।
