न्युयोर्क, ११ जेठ । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो ।
जुलाई महिनामा आपूर्ति हुने पश्चिम टेक्सास मध्यवर्ती (डब्लुटीआई) कच्चा तेल एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ अमेरिकी डलरमा पुगेको थियो, जुन करिब ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि ५.५७ अमेरिकी डलरले घटेर ९७.९७ अमेरिकी डलर प्रति ब्यारेलमा झरेको थियो, जुन करिब ५.३८ प्रतिशतको गिरावट हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको भए पनि अन्तिम सहमतिका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य देशबीच थप छलफल आवश्यक रहेको बताएका थिए ।
प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने, इरानलाई पुनः तेल निर्यात गर्न दिने तथा इरानको आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः खोल्ने कदम अघि बढाए अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा प्रवेश गर्न तयार रहेको बताएका छन् ।
यसैबीच इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जनाएको छ । यसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको संकेत गरेको छ ।
ऊर्जा विश्लेषकहरूका अनुसार युद्धअघिको अवस्थामा तेल आपूर्ति चाँडै फर्किन कठिन देखिन्छ । उत्पादन संरचनामा पुगेको क्षति, केही क्षेत्रमा जारी उत्पादन अवरोध तथा ढुवानी समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन् । विश्लेषकहरूले तेल बजारमा आपूर्ति–माग असन्तुलन कायम रहने, मूल्य लामो समयसम्म उच्च रहन सक्ने र पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सन् २०२७ सम्म लाग्न सक्ने बताएका छन् ।
