• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा नेपाली नर्स ममता बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ प्रमाण फेला, शव अझै फेला परेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट सम्बन्धी अनुसन्धानमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। करिब दुई वर्षअघि बेपत्ता भएकी ममताको खोजीका क्रममा बरामद गरिएको एउटा आराबाट मानव कपाल तथा रौँका नमुना भेटिएपछि अनुसन्धानले नयाँ मोड लिएको छ।

अदालतमा पेश गरिएको नयाँ दस्तावेजअनुसार भर्जिनियाको फरेन्सिक विज्ञान विभागले उक्त आराबाट संकलन गरिएका प्रमाणहरूको विस्तृत परीक्षण गरेको छ। परीक्षणका क्रममा तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, विभिन्न रेशा तथा फोहोरका कणहरू फेला परेका छन्।

अनुसन्धानकर्ताहरूले प्रारम्भिक रूपमा दृश्य परीक्षण र ‘स्टेरियो माइक्रोस्कोपी’ प्रविधिको प्रयोग गरी प्रमाणहरूको अध्ययन गरेका थिए। त्यसपछि थप फरेन्सिक विश्लेषणका लागि नमुनाहरू सम्बन्धित प्रयोगशालामा पठाइएको जनाइएको छ।

अदालतको अभिलेखअनुसार फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’का लागि उपयुक्त देखिएको छ। ती नमुनाहरू अहिले थप परीक्षणका लागि फरेन्सिक बायोलोजी विभागमा पठाइएको छ। यद्यपि अन्य १३ वटा कपालका टुक्रा भने डीएनए परीक्षणका लागि पर्याप्त गुणस्तरका नभएको फरेन्सिक अधिकारीहरूले बताएका छन्।

बरामद गरिएका प्रमाणहरू हाल राज्यको केन्द्रीय प्रयोगशालामा थप डीएनए विश्लेषणको प्रक्रियामा रहेका छन्। अनुसन्धान अधिकारीहरूका अनुसार परीक्षणको नतिजाले घटनासम्बन्धी थप तथ्य उजागर गर्न सक्ने अपेक्षा गरिएको छ।

यस चर्चित प्रकरणमा ममताका श्रीमान् नरेश भट्ट विरुद्ध हत्या तथा शव लुकाएको आरोपमा कानुनी प्रक्रिया अघि बढिरहेको छ। अभियोजन पक्षले नरेशले नै ममताको हत्या गरेको दाबी गर्दै आएको भए पनि हालसम्म ममताको शव भने फेला परेको छैन।

सन् २०२४ मा ममता बेपत्ता भएदेखि अमेरिकी प्रहरी र फरेन्सिक टोलीले घटनाको अनुसन्धान जारी राखेका छन्। नयाँ फरेन्सिक प्रमाणले अभियोजन पक्षको दाबीलाई थप बल पुग्न सक्ने अनुमान गरिएको छ भने डीएनए परीक्षणको अन्तिम प्रतिवेदनले घटनाको रहस्य उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖