लन्डन, २३ जेठ । बेलायतमा बस्ने भारतीय मूलकी महिला वर्षा गोहिललाई २३ वर्ष लामो सम्बन्ध विच्छेदको कानुनी लडाइँपछि ६६ लाख पाउण्ड अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिइएको छ।
वर्षाको लागि यो सजिलो निर्णय थिएन। उनको संघर्ष दुई दशकभन्दा बढी समयसम्म चल्यो। गोहिलको सम्बन्ध विच्छेद बेलायतको सबैभन्दा चर्चित सम्बन्ध विच्छेदका घटनाहरू मध्ये एक थियो। सुरुमा उनले २ लाख ७० हजार पाउण्ड मात्र प्राप्त गरेकी थिइन् तर २३ वर्षपछि यो रकम बढेर ६६ लाख पाउण्ड पुगेको छ। यो एकदमै फिल्मी केस हो।
वर्षा गोहिलले सन् २००२ मा आफ्ना पति भद्रेश गोहिलबाट दुर्व्यवहारको आरोप लगाउँदै सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन्। त्यतिबेला उनीहरूका तीन सन्तान थिए। उनीहरूबीच आर्थिक सम्झौता भएको थियो। उनका पतिले सम्बन्ध विच्छेदको बदलामा उनलाई २ लाख ७० हजार पाउण्ड प्यूजो कार मात्रै दिएका थिए ।
वर्षाले कहिल्यै पनि पूर्ण रूपमा विश्वास गरिनन् कि उनका पतिको सबै सम्पत्ति उनलाई खुलासा गरिएको थियो। उनलाई पक्कै पनि शंका थियो तर उनको शंकालाई समर्थन गर्ने धेरै प्रमाण थिएनन्। यद्यपि, नाइजेरियाका पूर्व गभर्नर जेम्स इबोरीका सहयोगीहरूसँग सम्बन्धित एउटा ठूलो मनी लान्ड्रिङ मुद्दामा भद्रेश गोहिललाई मुख्य अभियुक्त घोषित गरिए पछि परिस्थिति नाटकीय रूपमा परिवर्तन भयो। वर्षाको शंका विश्वासमा परिणत हुन थाल्यो।
वर्षाका श्रीमानलाई अधिकारीहरूले अपतटीय संरचना र ग्राहक खाताहरू मार्फत लाखौं पाउन्ड स्थानान्तरण गर्न मद्दत गरेको आरोप लगाएका थिए। लामो अनुसन्धान पछि भद्रेश गोहिललाई मनी लान्ड्रिंग, धोखाधडी र ठगीको षड्यन्त्रको दोषी ठहराइएको थियो।
सन २०११ मा उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो। तर, अहिले अनुसन्धान बढदै गए पछि अन्ततः बर्षाले १ अर्ब ३५ करोड भन्दा बढी रकम पाइन् ।
