• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तेलको मूल्य मार्च यताकै न्यून बिन्दुमा


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका र इरानबिच युद्ध अन्त्य गरी रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पुनः सुचारु गर्ने प्रारम्भिक सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। सोमबार तेलको भाउ घटेर गत मार्च महिनायताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

दुई देशबिच वार्ता सफल भएको खबर सार्वजनिक भएसँगै बजारमा इन्धनको मूल्य ओरालो लागेको हो । ब्रेन्ट क्रुड प्रतिब्यारेल ३.५८ डलर (४.१० प्रतिशत) ले घटेर ८३.७५ डलरमा झरेको छ। वेस्ट टेक्सास इन्टरमिडिएट प्रतिब्यारेल ४.०१ डलर (४.७२ प्रतिशत) ले गिरावट आउँदै ८०.८७ डलर कायम भएको छ। यसअघि गत शुक्रबार पनि यी दुवै किसिमका तेलको मूल्यमा तीन प्रतिशतभन्दा बढीको गिरावट आइसकेको थियो।

CG
यो विवाद सुल्झाउन मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानका प्रधानमन्त्रीका अनुसार अमेरिका र इरानबिच आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर हुने कार्यक्रम छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्र अब बिना कुनै शुल्क व्यापारिक जहाजहरूका लागि खुला रहने र इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी पनि तत्काल हटाइने घोषणा गरेका थिए। इरानको अर्ध-सरकारी सञ्चारमाध्यम ‘मेहर’का अनुसार सम्झौताको मस्यौदामा इरानी व्यवस्थापनमै ३० दिनभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने उल्लेख छ।

केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररका अनुसार बजारमा तेलको प्रवाह पुरानै अवस्थामा फर्किने संकेत पाएसँगै लगानीकर्ताहरू ढुक्क भएका छन्, जसका कारण कच्चा तेलमा थपिएको भूराजनीतिक जोखिमको मूल्य (रिस्क प्रिमियम) तीव्र रूपमा घटेको हो।

विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको २० प्रतिशत (पाँचौँ हिस्सा) ओगट्ने हर्मुज जलमार्ग विगत तीन महिनाभन्दा बढी समयदेखि जारी युद्धका कारण बन्द रहँदा विश्व बजारले लाखौँ ब्यारेल इन्धन आपूर्ति गुमाएको थियो।

कमोडिटिज रणनीतिकार विवेक धरले हर्मुजबाट हुने तेलको प्रवाह युद्धपूर्वको तुलनामा ६० देखि ७० प्रतिशत मात्र पुगे पनि बजारलाई सन्तुलित बनाउन पर्याप्त हुने बताएका छन्। उनले यो वर्षको अन्त्यसम्ममा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलर आसपास रहने अनुमान गरेका छन्।

यसैबिच, इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले ६० दिनको युद्धविराम अवधिमा थप बृहत् सम्झौताका लागि वार्ताहरू अघि बढाइने जानकारी दिएका छन्। यद्यपि, आईजी बजार विश्लेषक टोनी सिकामाेरले आगामी ६० दिनको वार्ता र विशेष गरी आणविक मुद्दामा रहने अनिश्चितताका कारण कच्चा तेलको मूल्य तत्कालै योभन्दा धेरै तल झर्ने सम्भावना भने कम रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖