न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको मूल्य घटेर सात महिनाकै न्यून स्तर नजिक पुगेको छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनमा दबाब परेको हो।
बिहीबार न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔँस ३ हजार ९६१ डलर ९५ सेन्टसम्म झरेको थियो। यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ४ः५७ बजे सुनको मूल्य ३ हजार ९८४ डलर ५ सेन्ट कायम भएको थियो, जुन अघिल्लो दिनको तुलनामा ०.१४ प्रतिशतले कम हो।
त्यस्तै, अगस्ट डेलिभरीको यूएस गोल्ड फ्युचर्स पनि ०.३ प्रतिशत घटेर प्रतिऔँस ४ हजार १४ डलर ९ सेन्टमा कारोबार भएको छ।
बजार विश्लेषकहरूका अनुसार फेडले आगामी सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना बढेकाले सुनको मूल्यमा गिरावट आएको हो। सीएमई फेडवाचको तथ्यांकअनुसार लगानीकर्ताहरूले सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना ६६ प्रतिशत रहेको अनुमान गरेका छन्।
जेफरीजको स्वामित्वमा रहेको ट्रेडु डटकमका वरिष्ठ बजार विश्लेषक निकोस त्जाबोरसले कडा मौद्रिक नीतितर्फ फेडको झुकाव नै सुन कमजोर हुनुको प्रमुख कारण बनेको बताएका छन्।
गत सातादेखि नै सुनको मूल्यमा गिरावट जारी छ। फेडको पछिल्लो बैठकपछि मात्रै सुनको मूल्य ६ प्रतिशतभन्दा बढी घटिसकेको छ। बुधबार मात्रै सुनको मूल्य नोभेम्बर २०२५ यताकै पहिलो पटक ४ हजार डलरभन्दा तल झरेको थियो।
यस वर्षको सुरुवातमा जनवरी २९ मा प्रतिऔँस ५ हजार ५९४ डलर ८२ सेन्टको कीर्तिमानी उच्च स्तर छोएको सुन हाल त्यसको तुलनामा करिब २८ प्रतिशतले घटेको छ।
विश्लेषकहरूका अनुसार लगानीकर्ताहरूले सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) बाट रकम निकालेर कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कम्पनीहरूको सेयरमा लगानी बढाइरहेका छन्, जसले पनि सुनको माग घटाएको छ। तथापि, उनीहरू सुनको दीर्घकालीन आकर्षण अझै कायम रहेको बताउँछन्।
लगानीकर्ताहरू अहिले अमेरिकी व्यक्तिगत उपभोग खर्च (PCE) सम्बन्धी तथ्यांकको प्रतीक्षामा छन्, जसलाई अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति मापनको प्रमुख सूचक मान्छ। यसले आगामी मौद्रिक नीतिको दिशाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।
यसैबीच, बिहीबार चाँदीको मूल्य ०.४ प्रतिशत बढेर प्रतिऔँस ५७ डलर ६४ सेन्ट पुगेको छ। प्लाटिनमको मूल्य ०.४ प्रतिशत घटेर १ हजार ५७१ डलर ९५ सेन्टमा झरेको छ भने प्यालेडियम १.६ प्रतिशत बढेर १ हजार १८४ डलर ७० सेन्टमा कारोबार भएको छ।
