• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मोदीलाई ज्यान मार्ने धम्की


  • धनकुटा खबर
  • .

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणअघि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटना सार्वजनिक भएपछि अस्ट्रेलियाली सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन्।

‘द अस्ट्रेलिया टुडे’ का अनुसार आगामी जुलाई ९ मा मेलबर्नस्थित मार्भल स्टेडियममा आयोजना हुने ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रमको प्रचारसम्बन्धी फेसबुक पोस्टको कमेन्टमा धम्कीपूर्ण सन्देश लेखिएको थियो।

‘अबु मुस्तफा’ नामको फेसबुक अकाउन्टबाट गरिएको कमेन्टमा, “कार्यक्रमका बेला स्टेडियमको छत बन्द राख्नु राम्रो हुन्छ, नत्र उनी (मोदी) आफ्नो मृत्युका लागि अस्ट्रेलिया आउँदैछन्,” भन्ने सन्देश पोस्ट गरिएको बताइएको छ।

घटना सार्वजनिक भएसँगै अस्ट्रेलियाली सङ्घीय प्रहरी (AFP) सहित विभिन्न सुरक्षा निकायले अनुसन्धान सुरु गरेका छन्। सुरक्षा स्रोतका अनुसार धम्की दिने फेसबुक अकाउन्टको आईपी एड्रेस ट्र्याक गरिएको छ भने यसमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्ने प्रयास भइरहेको छ।

अस्ट्रेलियाली सङ्घीय प्रहरीका प्रवक्ताले विदेशी राष्ट्र प्रमुखमाथि आउने यस्ता धम्कीलाई अत्यन्त गम्भीरताका साथ लिइने बताउँदै सुरक्षा व्यवस्थाको व्यापक समीक्षा भइरहेको जानकारी दिएका छन्। हालसम्म भने यस घटनामा कसैलाई पक्राउ गरिएको छैन।

प्रधानमन्त्री मोदी जुलाई ८ देखि १० सम्म अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको निमन्त्रणामा हुने अस्ट्रेलिया–भारत वार्षिक शिखर सम्मेलनमा सहभागी हुन अस्ट्रेलिया जाँदैछन्।

भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी, व्यापार, सुरक्षा र रक्षा सहकार्यसम्बन्धी विभिन्न विषयमा छलफल तथा महत्त्वपूर्ण सम्झौताहरू हुने कार्यक्रम छ।

धम्की सार्वजनिक भएपछि मेलबर्न र सिड्नी लगायत प्रधानमन्त्री मोदीका कार्यक्रम हुने स्थानहरूमा सुरक्षा व्यवस्था अझ कडा पारिएको छ भने बहु–सुरक्षा एजेन्सीलाई उच्च सतर्कतामा राखिएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖