• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यस्तो अवस्थामा भेटियो हराएको विमानको भग्नावशेष


  • धनकुटा खबर
  • .

काठमाडौं । शारजाहबाट कराँचीका लागि उडेको पाकिस्तानको एउटा कार्गो (मालवाहक) विमानको भग्नावशेष फेला परेको छ। उक्त विमान पाकिस्तानी तट नजिकै बेपत्ता भएको थियो भने विमानमा सवार व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको छ।

बुधबार अरब सागरमा बेपत्ता भएको एक निजी कम्पनीको मालवाहक विमानको भग्नावशेष ओरमाराको तटबाट ५३ समुद्री माइल (नटिकल माइल) दक्षिणमा फेला परेको हो। पाकिस्तानी नौसेना र पाकिस्तान समुद्री सुरक्षा बलले समुद्रमा १२ घण्टा लामो अभियान चलाएर उक्त भग्नावशेष फेला पारेका हुन्।

पाकिस्तान एयरपोर्ट अथोरिटी (पीएए) का अनुसार विमानका चालक दलका सदस्यहरूको खोजीका लागि उद्धार कार्य अझै जारी रहेको छ। खोजी अभियानमा पाकिस्तानी नौसेना र वायुसेना संलग्न रहेको पीएएले जनाएको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार मङ्गलवार राति ९:२१ बजे राडारमा विमान तीव्र गतिमा तलतिर झरिरहेको देखिएको थियो र त्यसको दिशा पनि अचानक परिवर्तन भएको थियो। त्यसको लगत्तै कराँचीबाट करिब १५५ समुद्री माइल पश्चिममा विमानको राडार र सञ्चार सम्पर्क विच्छेद हुन पुगेको थियो।

बेपत्ता भएको उक्त विमान बोइङ ७३७ रहेको र त्यो पाकिस्तानको कराँचीस्थित एक निजी एयरलाइन ‘के२ एयरवेज’ को भएको बताइएको छ। एयरलाइनका अनुसार विमानमा मोहम्मद रिजवान इद्रिस (पाइलट इन कमान्ड), फैसल महमुद (फर्स्ट अफिसर), मोहम्मद तौफिक खान (लोड मास्टर), आरिफ सिद्दिकी (इन्जिनियर) र मोहम्मद हामिद (इन्जिनियर) गरी चालक दलका पाँच सदस्य सवार थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖