• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौँ। इरानको रूढीवादी पत्रिका हमशहरी ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलास्वरूप लक्षित गरिन सक्ने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताहरूको नाम समेटिएको सूची सार्वजनिक गरेको दाबी गरिएको छ।

समाचारअनुसार, गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैसाता सम्पन्न अन्त्येष्टिपछि सार्वजनिक गरिएको आफ्नो पहिलो सन्देशमा मोजताबाले बदला लिनु राष्ट्रको चाहना भएको उल्लेख गर्दै सूचीमा रहेका व्यक्तिहरूले शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिएको दाबी गरिएको छ।

तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित हमशहरी पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको भनाइसँगै १३ जना विदेशी नेताको तस्बिर समेटिएको एक इन्फोग्राफिक प्रकाशित गरेको जनाएको छ।

यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिहरूको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन। साथै, पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य कुनै आधिकारिक निकायले अनुमोदन गरेको संकेतसमेत छैन। उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा पनि समावेश नगरिएको बताइएको छ।

इन्फोग्राफिकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेताहरू समावेश रहेको उल्लेख गरिएको छ।

युद्धका क्रममा इरानले युरोपेली मुलुकहरूले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएको आरोप लगाउँदै आएको छ।

समाचारमा मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा नदेखिएको र उनका पिता मारिएको भनिएको आक्रमणमा उनी पनि घाइते भएको दाबी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖