पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना विद्यार्थीसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।
ट्राफिक तथा सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराका अनुसार राजधानी कम्पालास्थित किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटनामा परेको हो।
प्रारम्भिक अनुसन्धानबाट विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि सिपी फल्स पुगेका थिए। भ्रमण सम्पन्न गरी फर्किने क्रममा चालकले बसमाथिको नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट चिप्लिएर सडक किनारमा रहेको ठूलो ढुंगामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २० विद्यार्थीसहित कम्तीमा २१ जनाको ज्यान गएको पुष्टि भएको छ भने घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
