न्यूयोर्क । अमेरिका र इरानबीच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य घटेको छ। यद्यपि दुवै पक्षबीच नयाँ आक्रमण जारी रहनुका साथै यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएपछि बजारमा अनिश्चितता भने कायम रहेको छ।
मंगलबार बिहान ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६ सेन्टले घटेर ८८ डलर २६ सेन्टमा पुगेको छ, जुन अघिल्लो कारोबारको तुलनामा १.१ प्रतिशतले कम हो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य ७३ सेन्ट अर्थात् ०.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८२ डलर ५० सेन्टमा झरेको छ।
विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीच तनाव कम हुने अपेक्षाले तेल बजारमा मूल्य घटेको हो। मध्यस्थकर्ताहरूले दुवै पक्षलाई १० दिनको युद्धविराम प्रस्ताव गरेको र प्रस्ताव सफल भए जुन महिनामा भएको अन्तरिम समझदारी पुनः कार्यान्वयनको सम्भावना बढ्ने बताइएको छ।
इरानका एक वरिष्ठ अधिकारीले तेहरानले १० दिने युद्धविरामको प्रस्ताव प्राप्त गरेको पुष्टि गरेका छन्। उक्त प्रस्ताव फेब्रुअरी २८ देखि जारी अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व अन्त्य गर्दै दीर्घकालीन सम्झौताको आधार तयार गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ।
यद्यपि कूटनीतिक प्रयास जारी रहे पनि सोमबार राति अमेरिकाले इरानका विभिन्न सहरमा पुनः आक्रमण गरेको जनाएको छ। त्यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी)ले क्षेत्रका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डले पनि इरानमाथि थप सैन्य कारबाही सुरु भएको पुष्टि गरेको छ।
बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रका अनुसार स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गरिरहेको एक तेल ट्यांकरमा अज्ञात क्षेप्यास्त्र प्रहार भएको छ। घटनापछि चालकदलले जहाज छाडेर लाइफबोटमार्फत सुरक्षित स्थानमा आश्रय लिएका छन्।
अमेरिका–इरान तनावका कारण स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजको संख्या पनि घट्दै गएको बताइएको छ। यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि समुद्री नाकाबन्दी लागू गर्ने घोषणा गरेका छन्।
विश्लेषकहरूका अनुसार यदि यस्तो अवस्था सिर्जना भयो भने विश्वकै प्रमुख तेल निर्यातकर्ता साउदी अरेबियाको तेल आपूर्तिमा असर पर्न सक्छ, जसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप जोखिम र मूल्य अस्थिरता निम्त्याउन सक्नेछ।
