• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बम बोकेकी महिला चिच्याउँदै रेस्टुरेन्टभित्र पस्न खोजेपछि….


  • धनकुटा खबर
  • .

मस्को । रुसको राजधानी मस्कोको मध्य भागमा रहेको एक इटालियन रेस्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।

मस्कोको प्रसिद्ध ‘स्टालिन-युग’ को गगनचुम्बी भवनमा रहेको उक्त रेस्टुरेन्टमा एउटा घरेलु विस्फोटक पदार्थ (आईईडी) विस्फोट गराइएको रुसी सुरक्षा अधिकारीहरूले बताएका छन्।

रुसको राष्ट्रिय आतंककारी विरोधी समिति (एनएके) का अनुसार, विस्फोटक पदार्थ बोकेकी एक महिला चिच्याउँदै रेस्टुरेन्टभित्र पस्न खोजेकी थिइन्। तर, प्रवेशद्वारमा रहेका सुरक्षा गार्डले उनलाई रोकेका थिए। सोही क्रममा विस्फोट भएको र विस्फोटमा परी बम बोक्ने महिला, सुरक्षा गार्ड र रेस्टुरेन्टमा आएका एक आगन्तुकको घटनास्थलमै मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।

विस्फोट स्थानीय समय अनुसार बेलुकी ८ बजे कुड्रिन्स्काया स्क्वायर नजिकै भएको थियो। घटनाको समयमा रेस्टुरेन्टमा एउटा निजी समारोह चलिरहेको बताइएको छ। अधिकारीहरूले उक्त समारोहमा को-को पाहुना थिए वा आक्रमणको मुख्य निशाना को थियो भन्नेबारे अहिलेसम्म केही खुलाएका छैनन्।
सुरुवाती रिपोर्टहरूमा विस्फोट भान्छामा भएको भनिए पनि रेस्टुरेन्ट प्रशासनले पछि एक विज्ञप्ति जारी गर्दै समस्या रेस्टुरेन्ट बाहिर भएको स्पष्ट पारेको छ।

पछिल्लो समय मस्को र आसपासका क्षेत्रमा रुसका धेरै उच्च सैन्य अधिकारीहरूको हत्या भइसकेको छ। रुसले ती आक्रमणहरूको पछाडि युक्रेनको हात रहेको आरोप लगाउँदै आएको छ। यद्यपि, यो पछिल्लो घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖